images
images
  • वर्षाले ८३ प्रतिशत शहरमा प्राकृतिक प्रकोप, खाद्यान्नको मूल्य वृद्धि र मुद्रास्फीति नियन्त्रण लिन बाध्य

    काठमाडौं– भूमण्डलीय तापक्रम (ग्लोबल वार्मिङ) वृद्धिले निम्त्याएको भारी वर्षाले सन् २०२० देखि सन् २०२३ सम्म ब्राजिलका १० मध्ये आठ सहरमा प्राकृतिक प्रकोप निम्त्याएको मङ्गलबार प्रकाशित एक अध्ययनले देखाएको छ । यो सन् १९९० को दशकको तुलनामा तीन गुणा बढी हो ।

    बढ्दो तापक्रमले करिब सात प्रतिशत प्रति अतिरिक्त डिग्रीसहित वायुमण्डलमा जल वाष्पको मात्रा बढाउँछ र यसले ल्याटिन अमेरिकासहित केही क्षेत्रमा भारी वर्षाको जोखिम बढाउँछ ।

    ब्राजिलमा तीव्र वर्षाले निम्त्याएको बाढी, नदीको बहाव र पहिरोको सङ्ख्या सन् २०२० मा दुई हजार तीन सय ३५ बाट तीन वर्षपछि सात हजार पाँच सय ३९ पुगेको छ । यसले ८३ प्रतिशत सहरलाई प्रभावित पारेको ब्राजिलियन एलायन्स फर ओसेनिक कल्चरको रिपोर्टले बताएको छ ।

    निजी र सार्वजनिक संस्थाहरूले तयार पारेको यो अध्ययनमा ब्राजिलले अभूतपूर्व बाढीको सामना गरेको सन् २०२४ को तथ्याङ्क समावेश गरिएको छैन । रिपोर्टअनुसार प्रत्येक वर्ष औसत ३२ लाख मानिस प्रभावित भएका छन् । यो सन् १९९० को दशकमा करिब ४३ हजारको तुलनमा धेरै हो ।

    “यो वृद्धिले वर्षासँग सम्बन्धित जलवायु प्रकोपहरूको बढ्दो आवृत्ति मात्र नभई, तिनीहरूको गम्भीरतालाई पनि प्रकाश पार्छ”, रिपोर्टका पछाडि रहेका अनुसन्धानकर्ता रोनाल्डो क्रिस्टोफोलेट्टीले एक विज्ञप्तिमा भने, “तथ्याङ्कले कमजोर समुदायहरूको सुरक्षा गर्ने र यी चरम घटनाहरूको प्रभावलाई कम गर्ने उद्देश्यले रोकथाम र अनुकूलन उपायहरू कार्यान्वयन गर्ने तत्काल आवश्यकतालाई जोड दिन्छ ।”

    अध्ययनअनुसार बाढीले विशेष गरी कृषि क्षेत्रलाई असर गरेको छ, जसले आर्थिक नोक्सानको ४७ प्रतिशत हिस्सा ओगटेको छ । सन् २०२४ को बाढीले सोही वर्षको ऐतिहासिक खडेरीसँग मिलेर खाद्यान्नको मूल्य बढाएको छ । यसले सरकारलाई मुद्रास्फीति नियन्त्रण गर्न उपायहरू लिन बाध्य बनाएको छ । –रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images