काठमाडौं– नेकपा (एमाले)का सांसद वासुदेव घिमिरेले प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र समितिका सचिव सुरजकुमार दुराले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।
बुधबार बसेको समितिको बैठकमा बोल्दै सांसद घिमिरेले समितिमा देखिएको अव्यवस्था र कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै नयाँ, अधिकारसम्पन्न छानबिन समिति गठन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘सभापति र सचिवले जिम्मेवारी लिनुपर्छ, राजीनामा दिनुपर्छ ।’
एमालेकै अर्का सांसद राजेन्द्र राईले पनि सभापति खतिवडाको राजीनामा माग गर्दै समितिको गरिमा जोगाउन नेतृत्व परिवर्तन अपरिहार्य भएको बताए । ‘सभापतिज्यू, अब तपाईंले मार्गप्रशस्त गर्नुपर्छ । समितिको अपमान गर्ने कसैलाई अधिकार छैन,’ राईले भने, ‘सचिव कहाँ गल्ती भयो ? तपाईंलाई कसले त्यस्तो अवस्थामा पु¥यायो ? बाटो खोलिदिनुहोस् ।’
उनले थपे, ‘शंका थियो, राख्न नहुने सल्लाह पनि दिइयो। तर तपाईंले प्रतिक्रिया जनाउनुभयो, अन्त्यमा त हटाउनु नै पर्ने रहेछ । निरन्तरता दिन नसक्ने यो शैलीले मुलुकलाई घाटा पुग्छ । मेहनत गर्नेहरूलाई पल–पलमा फेर्ने काम भइरहेछ । अब तपाईंको नेतृत्वमा समितिको काम अघि बढ्न सक्दैन ।’
बैठकमा अन्य सांसदहरूले पनि सभापति र सचिवको भूमिकाबारे प्रश्न उठाएका थिए । समितिमा पछिल्लो समय देखिएको विवाद र असहमतिले नेतृत्वको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ ।























