काठमाडौं– नेकपा (एकीकृत समाजवादी)ले नेतृ रामकुमारी झाँक्रीलाई अध्यक्ष माधवकुमार नेपालमाथि दिएको अभिव्यक्तिका कारण स्पष्टीकरण सोधेको छ ।
पार्टीको अनुशासन आयोगमार्फत स्पष्टीकरण मागिएको र जवाफका आधारमा थप निर्णय हुने सचिव सोमप्रसाद पाण्डेले जनाएका छन् ।
झाँक्रीले भ्रष्टाचार मुद्दामा मुछिएका अध्यक्ष नेपालको नेतृत्वमा नै संकट आएको भन्दै काँधमा मरेको सिनो बोकेर हिँड्न नसकिने अभिव्यक्ति दिएकी थिइन् ।
उनले अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्न सकिने बताएकी थिइन् ।
झाँक्रीको सिनो शब्दप्रति पार्टीभित्र तीव्र असन्तुष्टि देखिएको छ ।
यसैबीच, अनेरास्ववियुमा पनि झाँक्री निकट नरेश न्यौपानेको नेतृत्वमा समानान्तर कमिटी गठन भएसँगै विद्यार्थी संगठनमा विवाद चुलिएको छ ।
अध्यक्ष महेश श्रेष्ठ माधव नेपालनिकट मानिन्छन् भने न्यौपाने झलनाथ खनाल र घनश्याम भुसाल समूहसँग निकट मानिन्छन् ।
वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले बिहीबार बस्ने सचिवालय बैठकमा यी सबै विषयमा छलफल हुने जानकारी दिएका छन् ।
उनले नेपालको सांसद पद निलम्बनमा परेकोले उनी अब संसदीय दलको नेता नरहने स्पष्ट पारे ।
झाँक्रीको भाषाशैली अनुशासनविपरीत रहेको भन्दै पाण्डेले कारबाही हुनुपर्ने बताएका छन् ।























