
कठमाडौं– २०७९ को आम निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध डडेल्धुराबाट उम्मेदवारी दिएर चर्चामा आएका सागर ढकाल अब रुपन्देही–३ को उपनिर्वाचन लड्न सक्रिय छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समर्थन लिएर चुनाव लड्ने प्रयास गरिरहेका छन् ।
त्यसो नभए स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रने तयारीमा छन् ।
ढकालले सामाजिक सञ्जालमा लेखेको स्टाटसले पनि उम्मेदवारीको संकेत दिएको छ ।
उनले रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङको नाम उल्लेख गर्दै परम्परागत तीन ठूला दलहरू कांग्रेस, एमाले र माओवादीविरुद्ध इतिहास रच्ने आह्वान गरेका छन् ।
तर, रास्वपाले भने उनलाई समर्थन गर्ने सम्भावना नकारेको छ ।
पार्टीका एक पदाधिकारीले ढकाललाई उडन्ते गफ गर्ने व्यक्ति भन्दै पार्टीले समर्थन नगर्ने स्पष्ट पारे ।
उनी राजनीतिक व्यक्ति नभएको र गालीको भरमा चर्चामा आउन खोजेको आरोप पनि लगाए ।
उता, रास्वपा भने रुपन्देही–३ मा चुनाव जित्ने गरी स्थानीय लोकप्रिय उम्मेदवारको खोजीमा लागेको छ ।
यसअघिको चुनावमा रास्वपाले समानुपातिकतर्फ तेस्रो बढी मत ल्याएको थियो ।
यसपटक पनि पार्टी सभापति रवि लामिछाने उपनिर्वाचनलाई गम्भीर रूपमा लिइरहेका छन् ।
यदि ढकालले स्वतन्त्र उम्मेदवारी दिएमा रास्वपाको भोट काट्न सक्ने अनुमान विश्लेषकहरूले गरिरहेका छन् ।
तर पार्टी नेताहरूले त्यसलाई अस्वीकार गरेका छन् । हालसम्म रास्वपाले कुनै उम्मेदवारको नाम सार्वजनिक गरेको छैन ।
प्रतिक्रिया दिनुहोस्