images
images
  • विश्वकै प्रतिष्ठित सञ्चार बीबीसी इजरायलको मुखपत्र, पूर्वाग्रही रिपोर्टिङको विरोध

    काठमाडौं– एक समय स्वतन्त्र र निष्पक्ष पत्रकारिताको पर्यायका रूपमा चिनिने बीबीसी हाल आफ्नै कर्मचारीहरूबाटै आलोचनाको घेरामा परेको छ ।

    बीबीसीका १०७ कर्मचारी र मिडिया क्षेत्रका झण्डै ३०० प्रबुद्ध व्यक्तिहरूले नेतृत्वलाई खुला पत्र लेख्दै इजरायल–प्यालेस्टाइन द्वन्द्वमा देखिएको पूर्वाग्रहीता र आन्तरिक सेन्सरशिपप्रति गम्भीर आपत्ति जनाएका छन् ।

    पत्रमा उनीहरूले गाजामा भइरहेको मानवीय संकट, प्यालेस्टिनी जनताको पीडा र इजरायली सेना तथा सरकारका क्रियाकलापसम्बन्धी समाचारहरूमा बीबीसीले एकपक्षीय कभरेज गरेको आरोप लगाएका छन् ।

    उनीहरूका अनुसार बीबीसीले इजरायली सेनाको पीआर एजेन्डालाई सहयोग पुग्ने गरी समाचार सम्प्रेषण गर्दै आएको छ । जसले स्वतन्त्र पत्रकारिताको मुलभूत मूल्य– निष्पक्षता र विश्वसनीयता–लाई गम्भीर रूपमा प्रभावित पारेको छ ।

    पत्रमा उल्लेख छ, ‘बीबीसीले इजरायली सेना र सरकारले गरिरहेका सैन्य कारबाहीहरूलाई प्रश्नविना प्रस्तुत गर्दै आएको छ, जसले एकतर्फी धारणा बनाउने जोखिम बढाएको छ । उता, प्यालेस्टिनी जनताको दुःख र युद्धजन्य मानवीय संकट उजागर गर्ने प्रयासहरू भने रोकिएको छ ।’

    बीबीसीले इजरायली सेना तथा सरकारका भनाइहरूलाई बिना परीक्षण, बिना प्रश्न प्रस्तुत गरेर उनीहरूको प्रचार यन्त्रझैं काम गरेको आरोपपत्रमा छ ।

    गाजाको मानवीय अवस्थालाई आवश्यक प्राथमिकतामा प्रस्तुत नगर्नु, युद्ध अपराधका गम्भीर आरोपहरूको निष्पक्ष समीक्षा नगर्नु, र प्रभावित नागरिकहरूको आवाज दबाउनुजस्ता व्यवहारको आलोचना गरिएको छ ।

    रिपोर्टरहरूलाई निष्पक्ष कभरेज गर्न व्यवस्थापनबाट रोकिने, अनुशासनको नाममा सम्पादकीय स्वतन्त्रतामा हस्तक्षेप हुने र संगठनभित्रै स्वतन्त्र अभिव्यक्तिको वातावरण नरहेको गुनासो पनि पत्रमा उल्लेख छ ।

    पत्रकारहरूले लेखेका छन्, ‘हामी निष्पक्ष र स्वतन्त्र पत्रकारिताको मूल्यमान्यतामा आधारित रहेर काम गर्न चाहन्छौं, तर संस्थाभित्रैबाट हामीलाई असहज बनाइन्छ ।’

    बीबीसीप्रति यस्तो असन्तुष्टि यो पहिलो पटक होइन । यसअघि पनि २०२४ को नोभेम्बरमा सय जना पत्रकारहरूले गाजासम्बन्धी रिपोर्टिङबारे आफ्ना चिन्ताहरू व्यक्त गरेका थिए ।

    उनीहरूले सन् २०२३ देखि नै बीबीसीले निष्पक्षताको मान्यता गुमाउँदै गएको आरोप लगाउँदै आएका छन् । यो पछिल्लो खुला पत्र भने गम्भीर रूपमा संस्थाको सम्पूर्ण सम्पादकीय एप्रोचमाथि प्रश्न खडा गर्ने खालको छ ।

    पत्र लेख्ने पत्रकारमध्ये केहीले नाम गोप्य राखेका छन् भने केहीले खुला रूपमा आफ्नो पद र परिचयसहित हस्ताक्षर गरेका छन् ।

    बीबीसी नेतृत्वले अहिलेसम्म खुला पत्रमा उठाइएका सबै आरोपको प्रत्यक्ष खण्डन गरेको छैन । यद्यपि संस्थाले आफ्नो आधिकारिक प्रतिक्रिया दिँदै तथ्यमा आधारित निष्पक्ष समाचार कभरेजप्रति प्रतिबद्ध रहेको दाबी गरेको छ ।

    तर पत्रले भने संस्थाको औपचारिक भनाइलाई अपर्याप्त र समस्याको सारमा प्रवेश नगर्ने बताएको छ । उनीहरूको भनाइमा प्रतिक्रियाको भाषामा औपचारिकता मात्र छ, समाधानको भावना छैन ।

    बीबीसीजस्तो अन्तर्राष्ट्रिय स्तरमा विश्वासिलो मानिएको संस्थाभित्रैबाट यति गम्भीर आलोचना हुनु पत्रकारिताको वर्तमान संकटलाई उजागर गर्ने संकेत हो ।

    सन् २०२३ यता गाजामा भइरहेको विनाशकारी युद्ध र त्यसको सन्दर्भमा विश्व मिडियाले लिएको अडानको आलोचना भइरहेका बेला, बीबीसी भित्रैबाट उठेको यो आवाज विश्वभरिका सञ्चारकर्मीहरूका लागि चेतावनी पनि हुन सक्छ ।

    पत्रले पत्रकारिताको आत्मा बचाइराख्न सम्पादकीय स्वतन्त्रता, आन्तरिक पारदर्शिता, र मानव अधिकारको सम्मान अनिवार्य भएको स्मरण गराएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images