काठमाडौं– टेस्ला प्रमुख एलन मस्क र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको पुरानो झगडा फेरि चर्किएको छ । ट्रम्पले समर्थन गर्दै आएको नयाँ कर र खर्च विधेयकलाई मस्कले घृणित र घिनलाग्दो भन्दै कडा आलोचना गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा मस्कले सो विधेयक पारित भए नयाँ ‘अमेरिका पार्टी’ खोल्ने चेतावनी दिएका छन् । उनले रिपब्लिकन र डेमोक्र्याट मिलेर युनिपार्टी बनाएको आरोप लगाउँदै जनताको आवाज बन्ने वैकल्पिक शक्ति आवश्यक रहेको बताए ।
मस्कको आलोचना पछि ट्रम्पले उनलाई दिएको सरकारी अनुदान कटौती गर्ने धम्की दिएका छन् । ट्रम्पले मस्कलाई इतिहासमै सबैभन्दा धेरै सरकारी अनुदान लिने व्यक्ति भन्दै अनुदान नपाए मस्कले अफ्रिका फर्कनुपर्ने तर्क गरे ।
उक्त विधेयक प्रतिनिधिसभाबाट एकमतको झिनो बहुमतले पारित भइसकेको छ भने सिनेटबाट पास हुने तयारी छ । ट्रम्प पक्षधर सांसदहरू यसलाई बिग ब्युटिफुल बिल भन्दै समर्थन गरिरहेका छन् । तर, केही परम्परावादी रिपब्लिकन र आर्थिक पत्रिका ‘वाल स्ट्रीट जर्नल’ले भने यसको विरोध गरेका छन् ।
मस्कले यसअघि ट्रम्पसँगको तिक्तता घटाउँदै केही पोस्टबारे पछुतो व्यक्त गरेका थिए । तर, अहिले फेरि ट्रम्पलाई व्यक्तिगत रूपमा आक्रमण गरेका छन् । उनले ट्रम्पले बाल यौन काण्डमा मुछिएका जेफ्री एपस्टिनसँग सम्बन्ध लुकाएको आरोप लगाएका छन् ।
मस्कले ट्रम्पलाई राष्ट्रपति बनाउन २५ करोड डलरभन्दा बढी खर्च गरेको र ट्रम्पले उनलाई सरकारी सुधारका लागि स्थापना गरेको डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी प्रमुख बनाएको खुलासा पनि गरेका छन् । तर, हालै मस्कले सो जिम्मेवारी छाडेका छन् ।
टेस्लाको नाफा यो वर्षको पहिलो त्रैमासमा ७१ प्रतिशत घटेपछि मस्कले अब आफ्नो ध्यान फेरि कम्पनीमै केन्द्रित हुने बताएका छन् । ट्रम्पसँगको सम्बन्धले टेस्लालाई लाभ हुने अपेक्षा गरिएको थियो । तर, राजनीतिक विवादले उल्टै क्षति पुगेको कम्पनीले नै स्वीकार गरिसकेको छ ।
खर्च विधेयकलाई लिएर सुरु भएको झगडाले मस्क–ट्रम्प सम्बन्ध फेरि चिसिएको छ । जसको प्रभाव अमेरिकी राजनीति र प्रविधि क्षेत्रमा गहिरो देखिँदैछ ।


विश्व खबर 


















