images
images
  • सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति भण्डारीले फिर्ता गर्दै सरकारी सेवा सुविधा

    काठमाडौं– झण्डै एक दशकपछि नेकपा एमालेको सक्रिय राजनीतिमा पुनरागमन गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सो पदको हैसियतअनुसार प्राप्त सरकारी सेवा सुविधा फिर्ता गर्न लागेकी छन् ।

    पूर्व राष्ट्र प्रमुखको सेवा सुविधा लिँदै सक्रिय राजनीतिमा सहभागी हुनु उचित नठानी आलोचना बढेपछि भण्डारीले आफैंले गृह मन्त्रालयलाई पत्र पठाएर सुविधा फिर्ता गर्न लागेकी हुन् ।

    शनिबार सार्वजनिक कार्यक्रममै सुविधा फिर्ताको घोषणा गर्ने भनिए पनि स्टन्टबाजी देखिने भन्दै पत्रमार्फत औपचारिक प्रक्रिया अघि बढाइएको हो ।

    भण्डारीको निकट स्रोतका अनुसार धेरै नेता तथा कार्यकर्ताले सुविधा फिर्ताको औपचारिक घोषणा गर्न सुझाव दिएका थिए । तर भण्डारीले सस्तो प्रचार नचाहेको जनाउँदै शालीन तरिकाले सम्बन्धित निकायमार्फत सुविधा फिर्ता गर्ने निर्णय गरेकी हुन् ।

    गृह मन्त्रालयका अनुसार पूर्वराष्ट्रपतिलाई मासिक १ लाख ५० हजार रुपैयाँ बराबरको सेवा सुविधा उपलब्ध थियो । त्यसअनुसार भण्डारीकी स्वकीय सचिवका रूपमा रत्नराज्य लक्ष्मी क्याम्पसका पूर्वस्ववियु सभापति राजकुमार राई कार्यरत छन् । त्यस्तै, कार्यालय सहयोगीको सुविधा पनि छ ।

    पूर्वराष्ट्र प्रमुखका सुरक्षाकर्मीका लागि सरकारले छुट्टै घर भाडामा लिएको छ । सुरक्षा व्यवस्थाबारे गृह मन्त्रालयले स्पष्ट पारेको छ कि प्रोटोकलअनुसार पूर्वराष्ट्रपतिलाई उपलब्ध गराइने सुरक्षा हटाउन नमिल्ने प्रावधान छ ।

    गाडी सुविधा नलिएको भए पनि भण्डारीलाई मासिक २०७ लिटर पेट्रोल उपलब्ध गराउने गरिएको गृह मन्त्रालयले जनाएको छ । सुरक्षाकर्मीको आवास खर्च भने सिधै घरधनीलाई भुक्तानी गरिँदै आएको छ ।

    सक्रिय राजनीतिमा प्रवेश गरेपछि भण्डारीको यो निर्णयलाई ‘संवैधानिक मर्यादा र नैतिकताको सन्देश’का रूपमा लिइएको छ । एमालेभित्र उनी पार्टी नेतृत्वमा पुनः आउने सम्भावनाबारे बहस चुलिँदै गएको सन्दर्भमा यो कदम महत्वपूर्ण मानिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images