काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले आफू आवद्ध सुमिरे टुर एन्ड ट्राभल्सबारे अनावश्यक टिप्पणी भएको भन्दै आपत्ति जनाएका छन् ।
शनिबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले जापानमा भिजिट भिसाका नाममा ठूलो संख्यामा नेपाली पठाउने सुमिरे टुर एन्ड ट्राभल्सबारे प्रश्न उठाएका थिए ।
उनले संसदमा बोलेका थिए, “सुमिरे टुर एन्ड ट्राभल्स भन्ने कसको ट्राभल्स हो ? विगत दश वर्षदेखि जापानमा भिजिट भिसाका नाममा हजारौं मान्छे पठाएर अर्बौं रुपैयाँ उठाउने, त्यसैबाट संसदमा प्रतिनिधित्व गर्ने र सांसद किनेर पार्टी बनाउने काम भएको छ ।”
आइतबार त्यसको जवाफ दिँदै उपसभापति अर्यालले ती आरोपहरू निराधार भएको दाबी गरे । “हो, म गर्वका साथ भन्छु— सुमिरे टुर एन्ड ट्राभल्स मेरो कम्पनी हो,” उनले भने, “तर, म नेपालमै केही गरेर खाने मान्छे हुँ, चोरेर खाने हैन ।”
उनले आफ्नो कम्पनीमार्फत भिजिट भिसामा जाने जोकोही व्यक्ति कानुनी प्रक्रिया अनुसार विदेश गएको र त्यहाँबाट नफर्किएको कुनै प्रमाण नभएको दाबी गरे । “मेरो कम्पनीबाट कोही गैरकानुनी रूपमा गएको छ भने प्रमाण दिनुस्, नत्र संसद्को अभिलेखबाट यस्तो निराधार आरोप हटाइयोस्,” उनले चुनौती दिए ।
अर्यालले आरोपको औचित्य नरहेको भन्दै सभामुखको ध्यानाकर्षण समेत गराए। उनले भने, “यहाँ पेशा व्यवसाय गरेर खानेहरूलाई राजनीतिलाई पेशा बनाएर राज्य दोहन गर्नेहरूले लान्छना लगाउँछन् । यस्तो व्यवहार सह्य हुन सक्दैन ।”
उनले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीबारे आफूहरू ३२ दिनदेखि संसद्मा आवाज उठाइरहेको भन्दै वास्तविक मुद्दाबाट ध्यान मोड्नका लागि यस्तो अनावश्यक विवाद सिर्जना गरिएको आरोप पनि लगाए ।
“हामीले कस्तो समाज निर्माण गर्दैछौं जहाँ इमानदारीपूर्वक व्यवसाय गर्नेहरू चोरहरूको जवाफ दिँदै हिँड्नुपर्ने हुन्छ ?” भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
अन्त्यमा, आफूहरूको आन्दोलन मानव तस्करीको विषयमा केन्द्रित रहेको र त्यसबाट पछि नहट्ने पनि उनले प्रस्ट पारे ।























