images
images
  • इरानको इभिन कारागारमा इजरायलको आक्रमण, ७१ जना कैदी–बन्दीको मृत्यु

    काठमाडौं– तेहरानको इभिन कारागारमा यस महिनाको १२ दिनसम्म चलेको युद्धका क्रममा इजरायली आक्रमणमा परी कम्तीमा ७१ जनाको मृत्यु भएको इरानको न्यायपालिकाले आइतबार जनाएको छ ।

    तेहरानको उत्तरमा रहेको इभिनमा सोमबार भएको आक्रमणले प्रशासनिक भवनको केही भाग ध्वस्त पारेको थियो । उक्त जेलमा राजनीतिक बन्दी र विदेशी नागरिकहरू रहेको अधिकारवादी समूहहरूले बताएका छन् ।

    “इभिन जेलमा भएको आक्रमणमा ७१ जनाको मृत्यु भएको पुष्टि भएको छ,” इरान सरकारद्वारा गराइएको औपचारिक जानकारीमा भनिएको छ ।

    इजरायलले जुन १३ मा सुरु गरेको बमबारी अभियानबाट प्रभावितमध्ये एक स्थान इभिन जेल रहेको न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरले बताए ।

    जहाँगीरका अनुसार इभिनमा मारिएकाहरूमा प्रशासनिक कर्मचारी, गार्ड, कैदी र भेट्न आएका आफन्तहरू साथै जेल नजिक बस्ने केही व्यक्ति पनि थिए ।

    न्यायपालिकाले सार्वजनिक गरेको तस्बिरमा भवनको पर्खाल भत्किएको, छाना भत्किएको, छरिएर रहेका भग्नावशेष र प्रतीक्षालयमा रहेका सतहहरु भत्किएको देख्न सकिन्छ ।

    इभिनको मेडिकल सेन्टर र भिजिटिङ रुमलाई निशाना बनाइएको अदालतले बताएको छ ।

    आक्रमणको एक दिनपछि मङ्गलबार इरानी जेल प्रशासनले इभिन जेलबाट पहिचान नै नगरी कैदीलाई बाहिर स्थानान्तरण गरेको बताएको थियो ।

    इभिनमा नोबेल शान्ति पुरस्कार विजेता नार्गेस मोहम्मदी, केही फ्रान्सेली नागरिक र अन्य विदेशी नागरिक रहेका छन् । –रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images