images
images
  • अध्यक्ष र संसदीय दलको नेतामा माधव यथावत्

    काठमाडौं– नेकपा (एकीकृत समाजवादी)को छैठौं केन्द्रीय सचिवालय बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दा प्रमुख छलफलको विषय बनेको छ ।

    पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकमा नेताहरूले अध्यक्ष नेपालमाथिको मुद्दा र त्यसको राजनीतिक सन्दर्भमा धारणा राखेका थिए । उपाध्यक्ष प्रकाश ज्वालाका अनुसार नेताहरूले उक्त मुद्दा ‘पतञ्जली प्रकरण’ का नाममा अध्यक्षलाई फसाउने योजनाको हिस्सा भएको निष्कर्ष निकालेका छन् ।

    ‘सबै वक्ताहरूको धारणा केन्द्रीय नेतृत्वलाई षड्यन्त्रपूर्वक झुटो आरोप लगाएर मुद्दा चलाइएको भन्नेमा केन्द्रित थियो,’ उपाध्यक्ष ज्वालाले भने, ‘यो पार्टी र अध्यक्ष दुवैविरुद्ध योजनाबद्ध रूपमा आएको षड्यन्त्र हो भन्ने निष्कर्ष निकालेका छौँ ।’

    ज्वालाका अनुसार मुद्दा दर्ता भए पनि माधवकुमार नेपाल पार्टी अध्यक्षकै भूमिकामा यथावत् रहने छन् । तर, संसदीय दलको नेताको हकमा आवश्यक निर्णय दलको बैठकबाट गरिने उनले स्पष्ट पारे ।

    बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीको आन्दोलन, आगामी अधिवेशनको तयारी लगायतका एजेन्डामा पनि छलफल भएको थियो । यी विषयमा छलफल जारी रहने र बैठक फेरि भोलि बस्ने जनाइएको छ ।

    सचिवालय बैठकले तीनवटा प्रस्तावसमेत पारित गरेको छ । सरकारले उखु उत्पादक किसानलाई दिँदै आएको अनुदान कटौती गरेको निर्णय तत्काल फिर्ता लिन माग गर्ने, रोपाईंको सिजनमा मल अभाव देखिएकाले मलको अविलम्ब आपूर्ति सुनिश्चित गर्न सरकारलाई आग्रह गर्ने, आगामी दिनमा अत्यधिक वर्षा हुने सम्भावना रहेकोले विपद् जोखिम न्युनिकरण तथा पूर्वतयारीका लागि आवश्यक स्रोतसाधनको व्यवस्था गर्न सरकारलाई ध्यानाकर्षण गराउने पस्ताव पारित गरेको छ ।

    पार्टीका अनुसार यी प्रस्तावहरू देशका कृषक र नागरिकको हकहितमा केन्द्रित छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images