images
images
  • एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको कमब्याक भोलि !

    काठमाडौं– मदन भण्डारी फाउन्डेसनद्वारा शनिबार राष्ट्रिय सभागृहमा आयोजना हुने मदन स्मृति दिवसको कार्यक्रम सत्तारूढ नेकपा (एमाले) भित्रको आन्तरिक शक्ति सन्तुलनका दृष्टिले निकै अर्थपूर्ण बन्दै गएको छ ।

    प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको वर्चस्व कायमै रहेको पार्टीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा पुनः प्रवेश गर्न लागेकी छिन् । पार्टी अध्यक्ष ओलीको स्पष्ट समर्थन विना नै भण्डारीको पुनरागमनको तयारीलाई एमाले भित्रको गहिरिँदो ध्रुवीकरणको संकेतका रूपमा हेरिएको छ ।

    एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले भण्डारी शनिबारको कार्यक्रममार्फत सक्रिय राजनीतिमा फर्कने घोषणा गर्ने तयारीमा रहेको बताए । पूर्वराष्ट्रपति भण्डारी जो दिवंगत नेता मदन भण्डारीकी पत्नीसमेत हुन् । विगतमा अध्यक्ष ओलीकी नजिककी राजनीतिक सहयोगीका रूपमा चिनिएकी थिइन् । ओलीकै सहयोगमा दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी भण्डारीले अब पुनः पार्टी राजनीतिमा भूमिका लिन खोजेकी हुन् ।

    यद्यपि एमालेभित्र भण्डारीको पुनरागमनलाई लिएर मतभेद देखिएको छ । हालै सम्पन्न ५३औँ सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले गणतन्त्रप्रति विश्वास कमजोर बनाउने खतरा रहेको भन्दै पूर्वराष्ट्रपतिलाई पार्टी सदस्य बन्न नदिने विधान संशोधनको प्रस्ताव राखेका थिए । तर, बैठकमा कसैको समर्थन नपाएपछि उक्त प्रस्ताव अघि बढ्न सकेन ।

    महासचिव पोखरेलले भण्डारीको सक्रियता संविधान, कानून र पार्टी विधानअनुसार रोक्न सकिने धारणा व्यक्त गरेका छन् । तर, भण्डारी पक्षधर नेताहरूले त्यस्तो कुनै संवैधानिक वा वैधानिक अवरोध नरहेको जिकिर गरेका छन् ।

    शनिबारको कार्यक्रममा प्रधानमन्त्री ओली पनि सहभागी हुने तय भएको छ । यद्यपि उनी त्यसै दिन स्पेन प्रस्थान गर्ने तयारीमा रहेकाले कार्यक्रम छोटकरीमै सम्बोधन गरेर बाहिरिने एमाले स्रोतहरूले जनाएका छन् ।

    एमालेभित्र भण्डारीको पुनरागमनले नयाँ राजनीतिक समीकरण सिर्जना गर्ने अनुमान गरिँदैछ । पार्टी नेतृत्व र सांगठनिक संरचनामा आउने सम्भावित उतारचढावसँगै शनिबारको कार्यक्रमले एमालेको आगामी दिशा निर्धारण गर्ने सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images