काठमाडौं– नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेसनले असार १४ गते ‘जनताको बहुदलीय जनवाद (जबज)का तीन दशक’ विषयक राष्ट्रिय गोष्ठी आयोजना गर्दैछ । फाउन्डेसनले यसपालि ७७ वटै जिल्लामा पनि कार्यक्रम गरिने जनाएको छ ।
यो कार्यक्रमलाई ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको आन्तरिक प्रतिस्पर्धाको सन्दर्भमा पनि हेरिएको छ । अतीतमा माधव नेपाल र झलनाथ खनालविरुद्ध गुटबन्दी गर्न प्रयोग भएको यो फाउन्डेसन अहिले ओलीविरुद्ध भण्डारीपक्षले प्रयोग गर्न थालेको एमालेभित्र भनिन्छ ।
असार १४ मा हुने कार्यक्रममा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहने छन् भने मदन भण्डारी हीरक महोत्सव सुरु गरिनेछ, जसको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्ने तयारी छ । यो महोत्सव एक वर्षसम्म चल्नेछ ।
त्यसैबीच एमालेले भदौ २०–२२ मा विधान महाधिवेशन गर्ने तयारी गरिरहेको छ । यो महाधिवेशनमा ७० वर्षे उमेरहद र दुई कार्यकालको सीमा हटाउने वा कायम राख्ने विषयमा बहस केन्द्रित हुने देखिन्छ । ओली पक्ष उमेरहद हटाएर आफूलाई पुनः अध्यक्ष बन्ने बाटो खोल्न चाहन्छ भने भण्डारी पक्ष त्यो रोक्न चाहन्छ ।
पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्कन चाहन्छिन् तर पार्टीको विधानले उनलाई रोकेको छ । यही कारण फाउन्डेसनको माध्यमबाट महाधिवेशनसम्म बहसको वातावरण बनाउने रणनीति भण्डारी पक्षको रहेको बुझिएको छ । हीरक महोत्सवको अभियानमार्फत जबजलाई व्यवहारमा उतार्नुपर्ने भन्दै पार्टीभित्र वातावरण बनाउने योजनासमेत रहेको भण्डारीपक्षका नेताहरू बताउँछन् ।
यता ओली पक्षले भने महाधिवेशनबारे हालसम्म पार्टीमा कुनै निर्णय नभएको भन्दै सामाजिक सञ्जालमा ओली नै पुनः अध्यक्ष बन्ने भन्दै प्रचार थालेका छन् । २५ जेठमा अनेरास्ववियु महाधिवेशनमा ओलीले ‘ग्रुपबाजीको हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोजिएको’ भन्दै आक्रोश व्यक्त गरेका थिए ।
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीमा उमेरहद कायम राखेर नयाँ पुस्तालाई अगाडि ल्याउनुपर्ने बताएकी छन् । पछिल्ला दिनमा एमालेभित्र भण्डारीको पक्षमा नेताहरू खुलेर उभिन थालेको आन्तरिक स्रोतहरू बताउँछन् ।























