काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न पदाधिकारी बैठक बोलाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् भने त्यसको पूर्वतयारीस्वरूप आइतबार बिहान पदाधिकारी बैठक डाकिएको हो ।
सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले आइतबार बिहान साढे १० बजे सभापति देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बस्ने जानकारी दिइन् ।
उनका अनुसार बैठकले सोमबार हुने केन्द्रीय कार्यसमितिको बैठकका कार्यसूची तय गर्नेछ ।
यो पटकको कार्यसमिति बैठक साउन यता पहिलो पटक नियमित रूपमा बस्न लागेको हो ।
बैठकमा पार्टीले तोकेको समयसीमाभित्र महाधिवेशन गर्न नसकेका सात भ्रातृ संस्थाहरू तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, थारु संघ, नेपाल दलित संघ, नेपाल किसान महासंघ र नेपाल लोकतान्त्रिक खेलकुद संघका तदर्थ समितिहरूको म्याद थप्ने वा नथप्ने विषयमा निर्णय गरिनेछ ।
गएको फागुन १ गते बसेको पदाधिकारी बैठकले ती संस्थाहरूलाई चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो । तर, निर्धारित समयसीमाभित्र महाधिवेशन नहुँदा न तदर्थ समितिहरूको अवधि थपिएको छ, न त ती समिति भङ्ग गरिएको छ ।
महामन्त्री गगन थापाका अनुसार कार्यसमिति बैठकमा गत भदौदेखि कार्यसम्पादन समितिले गरेका निर्णयहरू अनुमोदन गर्ने प्रक्रिया पनि अघि बढाइनेछ ।
त्यस्तै पार्टी सदस्यता वितरण प्रक्रिया, वर्तमान सरकारको कार्यसम्पादन मूल्याङ्कन, राष्ट्रिय राजनीति तथा पार्टीको १५औं महाधिवेशनको प्रारम्भिक तयारीबारे समेत विस्तृत छलफल हुने बताइएको छ ।























