images
images
  • इजरायलद्वारा गाजा तहसनहस, इरानमा भीषण आक्रमणलगत्तै लेबनानमा हवाई हमला, हिजबुल्लाहका २ सदस्यको मृत्यु

    काठमाडौं– लेबनानको दक्षिणी क्षेत्रमा इजरायलले गराएका दुई छुट्टाछुट्टै हवाई आक्रमणमा हिजबुल्लाह समूहका दुई सदस्यको मृत्यु भएको छ । यो जानकारी स्थानीय सञ्चार माध्यम र सुरक्षा स्रोतहरूबाट प्राप्त भएको हो ।

    लेबनानको आधिकारिक राष्ट्रिय समाचार संस्थाका अनुसार इजरायली ड्रोनले दक्षिण लेबनानको बायत लिफ गाउँको पश्चिमी प्रवेशद्वारमा एउटा मोटरसाइकललाई लक्षित गरी आक्रमण गर्दा एक जनाको ज्यान गएको हो ।

    त्यसैगरी अर्को घटनामा, शक्रा र बराचित गाउँहरूबीच सडक निर्माणका लागि प्रयोग भइरहेको एक बुलडोजरलाई अर्को ड्रोन आक्रमणले लक्षित गर्दा एक जनाको मृत्यु भएको सार्वजनिक स्वास्थ्य मन्त्रालयको आपत्कालीन स्वास्थ्य कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

    लेबनानी सुरक्षाकर्मीले सिन्ह्वालाई दिएको जानकारीअनुसार दुवै मृतकहरू हिजबुल्लाहसँग सम्बद्ध थिए । यी घटनाहरू इजरायल र हिजबुल्लाहबीच नोभेम्बर २७, २०२४ देखि लागू भएको युद्धविराम सम्झौताका बावजुद भएका हुन् । सो सम्झौताले गाजा क्षेत्रमा भएको युद्धपछि करिब एक वर्ष लामो संघर्ष अन्त्य गराएको थियो ।

    यद्यपि इजरायली सेनाले हिजबुल्लाहबाट हुने सम्भावित खतरा हटाउने उद्देश्यले छिटपुट रूपमा लेबनानमा आक्रमण जारी राखेको दाबी गर्दै आएको छ । यसअघि इजरायलले गाजा तहसनहस बनाएको छ भने इरानमा भीषण आक्रमण गरेको थियो । त्यसलगत्तै उसले लेबनानमा पनि आक्रमण सुरु गरेको छ । –रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images