तेहरान– लामो समयपछि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी सार्वजनिक भएका छन् । इसराइलसँगको युद्ध उत्कर्षमा पुगेपछि बंकरमा कडा सुरक्षामाझ बसेका खामेनीले बिहीबार टेलिभिजनमार्फत सम्बोधन गर्दै आफू सकुशल रहेको सन्देश दिएका हुन् ।
तर, उक्त सम्बोधन पहिले नै रेकर्ड गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । सम्बोधनको स्थान खुलाइएको छैन । भिडियोमा उनी गाढा रंगको पर्दा अगाडि, इरानी झण्डा र आफ्ना पूर्ववर्ती अयातोल्लाह खोमैनीको तस्वीरबीच बसेका देखिन्छन् ।
युद्ध उत्कर्षमा पुगेका बेला खामेनीको अवस्थाबारे विभिन्न आशंका उठेका थिए । उनी घाइते भएको वा मारिएको हुनसक्ने अडकलबाजी समेत इरानभित्रै चलेको थियो । युद्धविरामपछि समेत लामो समय सार्वजनिक रूपमा नदेखिएपछि सरकारी अधिकारीदेखि सर्वसाधारणसम्म चिन्तित थिए ।
उनको टेलिभिजन सम्बोधन सार्वजनिक भएपछि इरानी नागरिकहरूले केही हदसम्म राहत महसुस गरेका छन् । यद्यपि उनी अझै प्रत्यक्ष रूपमा सार्वजनिक रूपमा देखिएका छैनन् ।
‘इरानको जित भएको छ’ : खामेनी
सम्बोधनमा खामेनीले इसराइलविरुद्धको युद्धमा इरान विजयी भएको दाबी गरे । उनले मध्यपूर्वका दुई अमेरिकी सैन्य अड्डामा सफल आक्रमण गरेपछि युद्धको टुंगो लागेको बताए ।
“हामीले मध्यपूर्वको मुख्य अमेरिकी सैन्य अड्डामा आक्रमण गरेर अमेरिकालाई गतिलो झापड हानेका छौँ,” खामेनीले भने, “यो हाम्रो जितको संकेत हो ।”
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति पनि तीव्र प्रतिक्रिया जनाए । “ट्रम्पको अभिव्यक्तिले इरान आत्मसमर्पण नगरेसम्म अमेरिकीहरू सन्तुष्ट हुँदैनन् भन्ने स्पष्ट भएको छ,” खामेनीले भने, “तर इरान कहिल्यै आत्मसमर्पण गर्ने छैन ।”
‘अमेरिकी सैन्य अड्डा हाम्रो पहुँचमा’
खामेनीले अमेरिकाले यदि पुनः आक्रमण गर्ने हो भने मध्यपूर्वमा रहेका उसका महत्त्वपूर्ण केन्द्रहरू इरानको सीधा पहुँचमा पर्ने चेतावनी पनि दिए । “यदि आक्रमण भयो भने यस्तै घटना भविष्यमा पनि दोहोरिन सक्छ,” उनले भने ।
ट्रम्पले इरानले आणविक कार्यक्रम पुनः सुरु गरे अमेरिकाले आक्रमण गर्ने बताएका छन् । यसै सन्दर्भमा खामेनीले अमेरिकाले फर्दो, नतान्ज र इस्फहानस्थित इरानी परमाणु केन्द्रहरूमा बंकरभेदी बम जिबियु-५७ प्रयोग गरेर आक्रमण गरे पनि ठूला क्षति गर्न नसकेको जिकिर गरे ।
“अमेरिकाले हाम्रा आणविक केन्द्रहरूमा हमला गर्यो, तर ठोस उपलब्धि हासिल गर्न सकेन,” खामेनीले भने, “ट्रम्पले देखावटी हमला गरे जुन उनको राजनीतिक रुपमा जरूरी थियो ।”
फर्दोमा १२ बंकरभेदी बम खसालियो, तर प्रभाव सीमित
अमेरिकाले आफ्ना सबैभन्दा शक्तिशाली बंकरभेदी बमहरू GBU-57 फर्दोमा मात्रै १२ वटा खसालेको थियो । ती बमले फर्दो, नतान्ज र इस्फहानस्थित संरचनामा आंशिक क्षति पुर्याएको बताइएको छ । अमेरिकी गुप्तचर निकायको प्रारम्भिक मूल्यांकनमा पनि फर्दोमा थोरै मात्र क्षति भएको उल्लेख थियो, जुन पछि लिक भएको थियो ।
‘अमेरिका प्रत्यक्ष रूपमा नहोमिएको भए इसराइल सकिने थियो’
सम्बोधनमा खामेनीले युद्धमा अमेरिका प्रत्यक्ष रूपमा संलग्न नभएको भए इसराइल पूर्ण रूपमा ध्वस्त भइसक्ने दाबी गरे । “इसराइली प्रतिरक्षा प्रणालीहरू तोडेर जब इरानले आक्रमण गर्न थाल्यो, इसराइलको रक्षाका लागि अमेरिका युद्धमा होमियो,” उनले भने, “यदि अमेरिका हस्तक्षेप नगरेको भए इसराइल अब रहेन हुने थियो ।”
नेतन्याहूको सन्देश: ‘साझा शत्रुहरूविरुद्ध सँगै लड्छौँ’
खामेनीको सम्बोधन सार्वजनिक भएलगत्तै इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हात मिलाउँदै गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । “हामी हाम्रा साझा शत्रुहरूलाई परास्त गर्न सँगै काम गरिरहनेछौँ,” नेतन्याहूले लेखेका छन् ।


विश्व खबर 


















