काठमाडौं– मधेस प्रदेश सरकारमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आइतबार दिउँसो १ बजेका लागि सचिवालय बैठक आह्वान गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट जनमत पार्टीलाई साइडलाइन गरेर ल्याइएको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका पार्टी नेताहरूले सचिवालय बैठकमा सरकारमा सहभागिता र समग्र विषयमा गम्भीर छलफल गर्ने जनाएका छन् ।
जनमत पार्टीका प्रवक्ता डा.शरदसिंह यादवका अनुसार सचिवालय बैठक आइतबार १ बजेका लागि बोलाइएको हो । अहिले नै सरकारबाट बाहिरिने निर्णय भइसकेको छैन । तर, डा.राउतको हिजोको फेसबुक स्टाटसपछि उत्पन्न चर्चा स्वाभाविक हो ।
उनले बजेटमा जनमत पार्टीले प्रस्तुत गरेको नीति, दृष्टिकोण र विकास मोडेलको उपेक्षा भएको दाबी गरे । ‘हामीले नेतृत्व गरेको सरकारको बजेटले हाम्रो पार्टीको अपेक्षा अनुसार दिशा लिन सकेन,’ यादवले भने, ‘मुख्यमन्त्री जनमत पार्टीको भए पनि अर्थ र भौतिक योजना मन्त्रालय जनमतसँग नभएको अवस्था छ। तर परिणाम नआए पार्टीलाई नै आलोचना सहनुपर्छ ।’
उनका अनुसार पार्टीले आम जनतासँग गरेका वाचा बजेटमार्फत कार्यान्वयन नहुँदा सरकारमा बसिरहनु उचित हो कि भन्ने प्रश्न पार्टीभित्र उठिरहेको छ । ‘मान्छेले डाक्टर साहबको पोस्टमा नै सोधिरहेका छन्, किन सरकारमा बसिरहनुभएको छ ? जनताको गुनासो जायज छ,’ उनले थपे ।
मधेस प्रदेशमा जनमत पार्टीका १३ जना प्रदेशसभा सदस्य छन् । पार्टीकै नेतृत्वमा सरकार भए पनि अपेक्षित सुधार र परिणाम नआउँदा पार्टीभित्र नैतिक दबाब बढेको प्रवक्ता यादवले बताए । ‘गुण–दोष जे भए पनि अन्ततः त्यसको जिम्मा हाम्रो पार्टीले लिनुपर्छ,’ उनले भने ।
यसैबीच शुक्रबार जनमत पार्टीको मधेस प्रदेश संसदीय दलको बैठकसमेत बसेको थियो । एक नेताका अनुसार बैठकमा बजेटलगायत विषयमा सामान्य छलफल भए पनि अन्तिम निर्णय सचिवालय बैठकबाट लिने तय गरिएको हो























