काठमाडौं– निर्वाचन आयोग नेपालले २०७९ सालमा सम्पन्न विभिन्न तहका निर्वाचनपछि विभिन्न कारणवश केही पदहरू रिक्त रहेको उल्लेख गर्दै भविष्यमा उपनिर्वाचन हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै महत्त्वपूर्ण जानकारी सार्वजनिक गरेको छ ।
आयोगले निर्वाचन मिति घोषणा हुनुअघि नै मतदाता नामावलीमा नाम दर्ता गर्न सबै नागरिकलाई आग्रह गरेको छ ।
निर्वाचन आयोगका अनुसार मतदाता नामावली ऐन, २०७३ को दफा ७ को उपदफा (२) को खण्ड (र) बमोजिम निर्वाचन मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम थप गर्ने छैन भन्ने कानुनी व्यवस्था छ ।
त्यसैले आगामी निर्वाचनमा मतदान गर्न चाहने तर अझै मतदाता नामावलीमा नाम दर्ता नगरेका व्यक्तिहरूले निर्वाचन मिति घोषणा हुनुअघि नै नाम दर्ता गराइसक्नुपर्ने आयोगले स्पष्ट पारेको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता दुर्गा प्रसाद चालिसेले हस्ताक्षरित उक्त प्रेस विज्ञप्तिमा सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई समयमा नै मतदाता नामावलीमा नाम समावेश गराउन हार्दिक अनुरोध गरिएको छ ।
हेर्नुहोस् विज्ञप्ति :
























