काठमाडौं– मधेश प्रदेशमा सरकारको नेतृत्व फेर्ने तयारी अन्तिम चरणमा पुगेको छ । सत्ता गठबन्धनका दलहरूबीच भएको सहमतिअनुसार आगामी आर्थिक वर्षको बजेट पास भएपछि जनमत पार्टीले सरकारको नेतृत्व कांग्रेसलाई हस्तान्तरण गर्ने भएको छ ।
कांग्रेस मधेश प्रदेशसभा प्रमुख सचेतक कुमारकान्त झाले २२ असारमा बजेट पारित भएसँगै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताए । उनका अनुसार बजेटअघि नै सरकार परिवर्तन गर्ने सहमति भए पनि प्राविधिक कारणले ढिलाइ गरिएको हो ।
सत्ता साझेदार एमाले, लोसपा लगायत दलहरू पनि कांग्रेसको नेतृत्वमा सरकार बन्नेमा सहमत रहेको बताइएको छ । यदि सहमति कार्यान्वयन नभए राजनीतिक बेइमानी ठहर्ने कांग्रेस नेताहरूको चेतावनी छ ।
विगत एक वर्षदेखि जनमतका सतिशकुमार सिंहले सरकारको नेतृत्व गरिरहेका छन् । अब गठबन्धनको सहमति अनुसार नेतृत्व कांग्रेसलाई सुम्पिने तयारी भइरहेको छ ।
प्रदेश गठन भएको आठ वर्षदेखि मधेशमा कांग्रेसले कहिल्यै सरकारको नेतृत्व पाएको छैन । यसअघि जसपाका लालबाबु राउतले पाँच वर्ष सरकार चलाएका थिए भने हाल जनमतको नेतृत्वमा सरकार सञ्चालन भइरहेको छ ।
कांग्रेसभित्र नेतृत्व पाउनुपर्ने आवाज चर्किंदै गएको छ । नेताहरूको भनाइ अनुसार अबको सरकार कांग्रेसको नेतृत्वमा बन्नु नै गठबन्धनको स्वाभाविक निरन्तरता हुनेछ ।


विश्व खबर 




















प्रतिक्रिया दिनुहोस्