काठमाडौं-भैरहवास्थित पाँचतारे होटल पवन प्यालेस अब ऊर्जा व्यवसायी सुवास अमात्यको स्वामित्वमा पुगेको छ। करिब डेढ अर्ब रुपैयाँमा होटलको सम्पूर्ण स्वामित्व खरिद गरेका अमात्यले यससँगै कुमारी बैंकको १ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋण दायित्व समेत स्वीकार गरेका छन्।
उक्त होटल पवन ग्रुप अफ होटल्सले निर्माण गरेको थियो। प्रसिद्ध पवन मिष्ठान्न भण्डारका सञ्चालक पवन हलुवाइले यो होटल सञ्चालनमा ल्याएका थिए। पेडा व्यवसायबाट चर्चित हलुवाइले पछिल्लो एक–डेढ वर्षदेखि होटल बिक्री प्रयासमा राखेका थिए। स्वामित्व हस्तान्तरणसँगै उनले होटलबाट अलग हुने र पुनः मिष्ठान्न व्यवसायमै केन्द्रित हुने बताएका छन्। उनका अनुसार, “अब पेडा नै बेचेर बसे हुन्छ, होटलको सम्पूर्ण सेयर अमात्यले लिएका छन्, ऋणको दायित्व पनि उनीकै हो।”
विशेषताः १४७ कोठा, पाँचतारे स्तरको सुविधा
पवन प्यालेस होटल भैरहवा–लुम्बिनी सडक छेउमा अवस्थित छ र करिब तीन बिघा क्षेत्रफलमा फैलिएको छ। १४७ कोठासहितको यो होटल पाँचतारे स्तरमा वर्गीकृत गरिएको छ, किनभने काठमाडौं उपत्यकाबाहिर ८० कोठाभन्दा बढी भएका होटलहरु पाँचतारे मानिन्छन्। २०७५ सालदेखि सञ्चालनमा आएको यो होटलमा कुल करिब २ अर्ब रुपैयाँ बराबरको लगानी गरिएको थियो।
हलुवाइ–बेरिवाल सहकार्य र अबको बाटो
पवन हलुवाइले व्यवसायिक साझेदार राजीव बेरिवालसँगको सहकार्यमा होटल स्थापना गरेका थिए। बेरिवाल भैरहवामै प्लाइउड तथा काँच (सीसा) उद्योग सञ्चालन गर्दै आएका स्थानीय व्यवसायी हुन्।
सुवास अमात्यः ऊर्जा र विमा क्षेत्रमा सक्रिय
नयाँ स्वामित्व लिएका सुवास अमात्य ऊर्जा, हेलिकप्टर सेवा तथा इन्स्योरेन्स क्षेत्रमा स्थापित नाम हुन्। उनी रिभरफल्स पावर लिमिटेडका अध्यक्षसमेत हुन्। होटल क्षेत्रतर्फ यो उनको एक ठूलो लगानीका रूपमा देखिएको छ।


विश्व खबर 




















