काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले सार्वजनिक रूपमा आफ्नो सम्पत्ति विवरण पेश गरेका छन् । राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि कानुनी दायित्वअनुसार उनले व्यक्तिगत तथा पारिवारिक सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।
गभर्नर पौडेलले ललितपुरको सैंबु र नवलपरासीको गैंडाकोटमा रहेका दुईवटा घर आफ्नो श्रीमती प्रतिभा शर्माको नाममा रहेको उल्लेख गरेका छन् ।
सैंबुस्थित जग्गाको मूल्य एक करोड ५५ लाख रुपैयाँ र गैंडाकोटस्थित जग्गाको मूल्य ६० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ । यी घर र जग्गा पैतृक तथा स्वआर्जित स्रोतबाट प्राप्त भएको उल्लेख गरिएको छ ।
चल सम्पत्तिमा पौडेलले ४५ तोला सुन (पैतृक) र १५ लाख रुपैयाँ बराबरको हिराको गहना (स्वआर्जित) देखाएका छन् । बैंक खातामा उनले विभिन्न खाता मार्फत जम्मा रकम देखाएका छन् ।
१. सानिमा बैंकः रु १३,२३,१९२
२. नेपाल इन्भेष्टमेन्ट मेगा बैंकः रु २,५९,३४४
३. सानिमा बैंक (डलर खाता)ः ६६.७८
श्रीमतीको नाममाः सानिमा बैंकमा रु १२,५४७, प्रभु बैंकमा रु ४,७३,८२२, र सानिमा बैंकको डलर खातामा ग्क्म् ४,४४६
बैंक खातामा रहेको सबै रकम स्वआर्जन गरिएको हो । सेयरतर्फ गभर्नर पौडेलको नाममा उल्लेख्य लगानी छ । जसको अनुमानित मूल्य झन्डै १४ करोड रुपैयाँ पुग्छ ।
१. सानिमा बैंकः रु २.४४ करोड बराबरका २,४४,१७६ कित्ता प्रवद्र्धक सेयर
२. सानिमा माइ हाइड्रोपावरः रु ९२.५७ लाख बराबरका ९२,५७९ कित्ता
३. सानिमा मिडल तमोर हाइड्रोपावरः रु १.८८ करोड बराबरका १,८८,००० कित्ता
४. ग्लोबेको प्रा.लि.ः रु ९३.४१ लाख बराबरका १,८६,८३४ कित्ता
५. संयुक्त ऊर्जा हाइड्रोपावरः रु ५ करोड बराबरका ५ लाख कित्ता
६. चितवन इनर्जीः रु २.५० करोड बराबरका २,५०,००० कित्ता
श्रीमती प्रतिभा शर्माको नाममा पनि ग्लोबेको प्रालिमा रु ३७.५ लाख बराबरका ७५,००० कित्ता सेयर रहेको उल्लेख गरिएको छ ।
पौडेलले आफ्नो वा परिवारको नाममा कुनै ऋण नलिएको स्पष्ट गरेका छन् । श्रीमतीको नाममा रहेको सुजुकी ब्रान्डको कारको मूल्य रु ४४ लाख रहेको विवरणमा उल्लेख छ ।
गभर्नर पौडेलको सम्पत्ति विवरणबाट उनीसँग उल्लेखनीय सेयर लगानी, नगद सम्पत्ति र पारिवारिक नाममा घरजग्गा रहेको स्पष्ट हुन्छ । सेयर मात्रमा झन्डै १४ करोड रुपैयाँ बराबरको लगानी देखिएको छ । जुन उनको कुल सम्पत्तिको सबैभन्दा ठूलो हिस्सा हो ।


विश्व खबर 


















