images
images
  • पूर्वप्रम माधवको पक्षमा १०० भन्दा बढी वकिल, अदालत परिसरमा कानुन व्यवसायी खचाखच

    काठमाडौं– विशेष अदालतमा उपस्थित भएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान जारी रहेको छ । बयानपछि सरकारी वकिल र नेपालका तर्फका कानुन व्यवसायीहरूबीच थुनछेक बहस हुने कार्यक्रम तय भएको छ ।

    नेपालको विपक्षमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट विशेष सरकारी वकिल कार्यालयका प्रमुख मोहन सागर बश्यालको नेतृत्वमा सरकारी वकिलहरूको टोलीले बहस गर्नेछ । साथै, सहन्यायाधीवक्ताको नेतृत्वमा थप सरकारी वकिलहरूलाई पनि अदालत पठाउने तयारी भएको छ।

    अख्तियारको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त पनि बहसमा सहभागी हुनेछन् । सामान्यतः अख्तियारले भ्रष्टाचारसम्बन्धी मुद्दामा सरकारी वकिलमार्फत मात्रै पैरवी गर्ने गरे पनि विशेष मामिलामा स्वतन्त्र कानुन व्यवसायीहरूलाई पनि संलग्न गराउने परिपाटी छ । हिमाल मिडियाका अध्यक्ष कनकमणि दीक्षितको मुद्दाका बेला पूर्वमहान्यायाधिवक्ता डा. युवराज संग्रौला लगायत कानुन व्यवसायीलाई यस्तै ढंगले संलग्न गरिएको थियो ।

    पूर्वप्रधानमन्त्री नेपालको पक्षमा बहस गर्न एक सयभन्दा बढी कानुन व्यवसायीले वकालतनामा पेश गरिसकेका छन् । ती सबैको वकालतनामा फारममा नेपाल स्वयंले हस्ताक्षर गरेका छन् । वकालतनामाको समन्वय अधिवक्ता परिवर्तन राईले गरिरहेका छन् । उनका अनुसार अझै पनि केही कानुन व्यवसायी वकालतनामा पेश गर्न अदालत आइरहेका छन् ।

    नेपालको पक्षमा वकालतनामा दर्ता गराउने कानुन व्यवसायीहरूमा वरिष्ठ अधिवक्ताहरू कृष्णप्रसाद भण्डारी, शम्भु थापा, पूर्वकानुन मन्त्री गोविन्द बन्दी, रमणकुमार श्रेष्ठ, सविता भण्डारी, टिकाराम भट्टराई, बाबुराम दाहाल र डा. चन्द्रकान्त ज्ञवाली रहेका छन् ।

    त्यस्तै, हर्कबहादुर रावल, खम्मबहादुर खाती, प्रेमबहादुर खड्का, ललित बस्नेत, एकराज भण्डारी, नारायणप्रसाद देवकोटा, विश्वकान्त मैनाली, सुरेन्द्र थापा र खगेन्द्र अधिकारीलगायतले पनि वकालतनामा पेश गरिसकेका छन् ।

    तर, सीमित समयभित्र संक्षिप्त थुनछेक बहस गर्नुपर्ने भएकाले दुवै पक्षबाट छानिएका केही कानुन व्यवसायीहरू मात्रै आजको बहसमा सहभागी हुन पाउने छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images