काठमाडौं– पतञ्जलि जग्गा प्रकरणमा अख्तियारले मुद्दा दायर गरेपछि पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निरन्तर कानुनी परामर्शमा व्यस्त छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते पतञ्जलिसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
आयोगले नेपालमाथि १८ करोड ५८ लाख ५० हजार रुपैयाँको बिगो र त्यहीअनुसारको जरिवाना तथा सजाय माग गर्दै भ्रष्टाचार मुद्दा चलाएको हो ।
मुद्दा दायर भएपछि नेपालले वरिष्ठ कानुन व्यवसायीहरूबाट कानुनी सल्लाह लिएका छन् ।
त्यस्तै, उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरूसँग पनि राजनीतिक परामर्श गरेका छन् ।
पार्टी स्रोतका अनुसार नेपालले गत आइतबार अदालतमा उपस्थित भएर बयान दिने तयारी गरेका थिए । तर, आवश्यक कागजातहरू पूर्ण रूपमा तयार नहुनुका कारण उनको उपस्थिति स्थगित भएको थियो ।
‘आइतबार नै अदालत जाने योजना थियो । तर, केही प्राविधिक कारणले सम्भव भएन,’ पार्टीका एक पदाधिकारीले भने, ‘शायद आज बुधबार वा भोलि बिहीबार उहाँ अदालत जानुहुन्छ ।’
नेपालले बिहीबारसम्म अदालतमा बयान दिएर शुक्रबार (असार १३ गते) पार्टी सचिवालयको बैठक बोलाउने तयारी गरेको छ । ‘अदालतमा बयान दिएपछि सचिवालय बैठकमार्फत पार्टीमा आन्तरिक छलफल सुरु गर्ने योजना बनाइएको छ,’ ती पादाधिकारीले भने ।























