images
images
  • बेलायतको आणविक रणनीति : एफ–३५ ए लडाकु विमान खरिद गरी नेटोको आणविक मिसनमा सहभागी

    काठमाडौं– बेलायत सरकारले आणविक बम बोक्न सक्ने १२ वटा नयाँ लडाकु विमान खरिद गर्ने भएको छ, जसले नेटोको हवाई आणविक मिसनमा सहभागिता जनाउनेछ ।

    डाउनिङ स्ट्रिटले यो कदमलाई “एक पुस्तामा बेलायतको आणविक रणनीतिको सबैभन्दा ठूलो सुदृढीकरण” भनेको छ ।

    नयाँ एफ-३५ ए लडाकु विमानहरूले सामान्य हातहतियार पनि बोक्न सक्छन्, तर तिनीहरूमा अमेरिकामा बनेका आणविक बमहरू जडान गर्ने विकल्प पनि हुनेछ ।

    यो निर्णय प्रधानमन्त्रीद्वारा यसै साता नेदरल्याण्ड्समा भइरहेको नेटो सम्मेलनमा घोषणा गरिनेछ ।

    नेटोको हवाई आणविक मिसन अन्तर्गत साझेदार देशका विमानहरूलाई युरोपमा भण्डारण गरिएका अमेरिकी बी६१ बमहरू जडान गरिन्छ ।

    संयुक्त राज्य अमेरिका, जर्मनी र इटालीलगायत सात देशहरूले पहिले नै यस्तो दोहोरो क्षमता भएका लडाकु विमान प्रयोग गरिरहेका छन् ।

    आणविक हतियारको प्रयोगका लागि नेटोको “न्युक्लियर प्लानिङ ग्रुप” को स्वीकृति आवश्यक पर्नेछ, साथै अमेरिकी राष्ट्रपति र बेलायती प्रधानमन्त्रीको पनि सहमति चाहिन्छ ।

    प्रधानमन्त्री सर केयर स्टार्मरले भने, “अहिलेको अस्थिर समयमा हामी शान्ति स्वाभाविक रूपमा सुनिश्चित हुने ठान्न सक्दैनौं, त्यसैले मेरो सरकारले हाम्रो राष्ट्रिय सुरक्षामा लगानी गरिरहेको छ ।”

    उनी भन्छन् यो कदमले देशभरि १०० व्यवसाय र २०,००० रोजगारीलाई समर्थन गर्नेछ र यसलाई “हाम्रो विश्व-स्तरीय रोयल एयर फोर्सको लागि नयाँ युग” भनेर स्वागत गरे ।

    नेटो महासचिव मार्क रुट्टेले यो घोषणा “नेटोप्रति बेलायतको अझ बलियो प्रतिबद्धता” भने ।

    नयाँ लडाकु विमानहरू नोरफोकस्थित आरएएफ मारह्याममा तैनाथ गरिनेछ ।

    एफ-३५ ए खरिदको निर्णयलाई बेलायती वायुसेनाको जितको रूपमा हेरिनेछ– जसले धेरै समयदेखि लामो दूरीसम्म पुग्ने र बढी प्रकारका हातहतियार बोक्न सक्ने विमानको माग गर्दै आएको थियो ।

    हाल बेलायती वायुसेना र नेभीले प्रयोग गरिरहेको एफ-३५ बी भेरियन्टको दायरा छोटो छ र यसले कम हातहतियार बोक्न सक्छ ।

    एफ-३५ बी लाई छोटो दूरीमा उडान भर्ने र ठाडो अवतरण गर्न सक्ने क्षमताका कारण बेलायती नेभीका दुई विमानवाहक युद्धपोत – HMS Queen Elizabeth र HMS Prince of Wales – मा प्रयोग गर्नका लागि छनोट गरिएको थियो ।

    संयुक्त राज्य अमेरिकाले युरोपमा पहिले नै बी६१ बमहरू भण्डारण गरिसकेको छ । डिफेन्स थिङ्क ट्याङ्क Royal United Services Institute (RUSI) का विशेषज्ञ जस्टिन ब्रन्कका अनुसार युद्धको अवस्थामा तिनको प्रयोगको नियन्त्रण अमेरिकी पक्षमै रहनेछ । बेलायतले त्यसमा निर्भर रहनुपर्ने अवस्था केही विवादास्पद हुन सक्छ ।

    हाल बेलायतसँग ठूला आणविक हतियार प्रक्षेपणका लागि एकमात्र माध्यम ट्राइडेन्ट ब्यालिस्टिक मिसाइल बोक्ने Vanguard श्रेणीका पनडुब्बीहरू छन् ।

    यी मिसाइलहरू अमेरिका निर्मित र मर्मत गरिएका भए पनि, तिनीहरूमा राखिने वारहेडहरू बेलायतमै बनाइन्छ र मर्मत गरिन्छ । बेलायतका पछिल्ला सरकारले तिनीहरूको प्रयोगमा अमेरिका निर्भर हुनु नपर्ने बताउँदै आएका छन्– त्यसैले यसलाई “बेलायतको स्वतन्त्र प्रतिरोध शक्ति (independent deterrent)” भनिन्छ ।

    बेलायती वायुसेनाका विमानहरूले सन् १९९८ सम्म ब्रिटेनमै निर्मित WE177 नामक साना रणनीतिक आणविक बम बोक्ने क्षमता राख्दथे । ती बम सेवा मुक्त भएपछि सो क्षमता हराएको थियो ।

    ब्रन्कका अनुसार वायुसेनालाई “आणविक खेलमा पुनः फर्कन” केही समय लाग्नेछ । एफ-३५ ए लिने प्रमुख लाभ भनेको यसको बढी दूरी र विविध प्रकारका परम्परागत हातहतियार बोक्ने क्षमता हो ।

    यो निर्णय बेलायती सरकारको हालैको Strategic Defence Review पछि आएको हो, जसमा रक्षामन्त्री जोन हेलीले भनेका छन्, “हामी नयाँ आणविक जोखिमहरूको सामना गरिरहेका छौं– अन्य देशहरू आफ्नो आणविक हतियारको सङ्ख्या, क्षमता र विविधता बढाउँदैछन् ।”

    मंगलबार सरकारले प्रकाशित राष्ट्रिय सुरक्षा रणनीतिमा भनिएको छ कि बेलायतले “स्वदेशमै युद्धको अवस्थासम्मको प्रत्यक्ष खतरा आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर सक्रिय तयारी गर्नुपर्ने” अवस्था आएको छ ।

    प्रधानमन्त्री सर केयर स्टार्मरले २०३५ सम्ममा बेलायतको कुल गार्हस्थ उत्पादन (GDP) को ५% राष्ट्रिय सुरक्षामा खर्च गर्ने नेटोको नयाँ लक्ष्य पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    यो साता हुने नेटो सम्मेलनमा ३२ सदस्य राष्ट्रहरूले उक्त लक्ष्यमा सहमति जनाउने अपेक्षा गरिएको छ, जसअनुसार ३.५% प्रत्यक्ष रक्षा क्षेत्रमा र बाँकी अन्य सुरक्षा सम्बन्धी क्षेत्रमा खर्च हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images