काठमाडौं– धरान उपमहानगरपालिकाले असार १० भित्र आगामी आर्थिक वर्षको बजेट ल्याउन सकेन ।
बजेट सीमा निर्धारण समितिको बैठक बस्न नसक्दा प्रक्रिया अघि बढ्न सकेको छैन ।
उपमेयर अईन्द्रविक्रम बेघाका अनुसार समितिको नेतृत्वमा रहेका मेयर हर्क साम्पाङ बैठकमा नबसेपछि बजेट तर्जुमा प्रक्रियामा ढिलाइ भएको हो ।
वैशाख ३१ मा राजस्व परामर्श समितिले मेयर साम्पाङलाई १ अर्ब ६० करोड रुपैयाँको सम्भावित बजेट प्रस्ताव बुझाइसकेको भए पनि त्यसपछिका चरण अघि बढेका छैनन् ।
हालसम्म बजेट तर्जुमा समितिको बैठकसमेत बसेको छैन । गत साता मेयर र उपमेयरबीच भएको विवादका कारण समिति बैठक अवरुद्ध भएको जनाइएको छ ।
धरानसहित काठमाडौं महानगरपालिकाले पनि अन्तिम दिनसम्म नगरसभा नबोलाएकाले बजेट ल्याउन सकेका छैनन् ।
कानुनअनुसार स्थानीय तहले असार १० भित्र बजेट सभामा पेश गरिसक्नुपर्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















