काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट समयमा ल्याउन नसक्ने भएको छ ।
पहिलोपटक महानगरको बजेट निर्धारित म्यादभित्र आउन नसक्ने भएको हो ।
महानगर प्रवक्ता नवीन मानन्धरका अनुसार कार्यपालिका बैठक नै नबसेकाले नीति तथा कार्यक्रम र बजेट प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
गत पुसदेखि नै कार्यपालिका बैठक बस्न नसकेको महानगरमा नक्सा पास विवादपछि आन्तरिक द्वन्द्व चर्किएको छ ।
मेयर बालेन्द्र शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको विवादका कारण समस्या झन गहिरिएको हो ।
शाहले गुरागाईंलाई नगरसभा सदस्य सचिवका रूपमा अस्वीकार गर्दै बिदामा जान दबाब दिएका छन् ।
तर, गुरागाईंले अस्वीकार गरेपछि बैठकहरू अवरुद्ध भएका छन् ।
बजेट निर्माणका लागि आवश्यक स्रोत अनुमान तथा सीमा निर्धारण समितिको बैठकसमेत बस्न सकेको छैन ।
कानुनअनुसार असार मसान्तसम्ममा बजेट पास हुनुपर्ने भए पनि प्रक्रिया नै सुरु हुन नसकेको हो ।
सचिवालयका अनुसार मेयरले उपमेयर, प्रवक्ता र दुई वडाध्यक्षलाई दलहरूसँग सहमति गराएर बैठक मिति तय गर्न जिम्मा दिएका थिए ।
तर, ती प्रतिनिधिबीच नै सहमति नजुटेपछि कार्यपालिका बैठक स्थगित रहँदै आएको छ ।


विश्व खबर 


















