images
images
  • भिजिट भिसा छानबिन समितिप्रति रास्वपा–राप्रपा असन्तुष्ट, पर्ख र हेरको अवस्थामा माओवादी

    काठमाडौं– भिजिट भिसा प्रकरणमा सरकारद्वारा उच्चस्तरीय छानबिन समिति गठन गरिए पनि समितिप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबारको प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।

    संसद्मा आफ्ना धारणा राख्दै दुवै दलले गठित समितिबाट सत्यतथ्य बाहिर नआउने भन्दै आपत्ति जनाएपछि बैठक बहिष्कार गरेका हुन् । लामो समयदेखि दुवै दलले भिजिट भिसाको दुरुपयोगबारे निष्पक्ष छानबिन र गृहमन्त्रीको राजीनामाको माग गर्दै आएका थिए ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरे पनि रास्वपा र राप्रपाले त्यसलाई अपर्याप्त भन्दै आफ्नो विरोधलाई जारी राखेका छन् । उनीहरूले समितिको नेतृत्व र संरचना दुबैप्रति अविश्वास जनाएका छन् ।

    समितिमा सहसचिवस्तरका कर्मचारीहरूलाई सदस्य बनाइएको छ । ती सदस्यहरूमा अर्थ मन्त्रालयका तिर्थराज चिलवाल, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयकी अरुणा जोशी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका मणिरत्न शर्मा र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रदीप कोइराला रहेका छन् ।

    गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले समितिको सदस्यसचिव छन् ।

    गृहमन्त्री रमेश लेखकका अनुसार समितिलाई ९ बुँदे कार्यादेश दिइएको छ । समितिले भिजिट भिसा प्रकरणमा तत्कालीन समस्या समाधानका लागि अल्पकालीन र दीर्घकालीन रणनीति, कानुनी एवं संस्थागत सुधारका सुझाव पेस गर्नेछ ।

    तर, प्रतिपक्षी दलहरूको आक्रोश भने समितिको संरचना र प्रभावकारितामाथि केन्द्रित छ भने प्रमुख विपक्षी माओवादी केन्द्र समितिको कामकारबाहीप्रति हेर र पर्खको अवस्थामा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images