images
images
  • अमेरिकाले इरानी आणविक भट्टीमा झुक्याएर १२५ विमानबाट बंकर बस्टर बम प्रहार गरेको खुलासा

    काठमाडौं– अमेरिकाले गत आइतबार इरानका तीनवटा प्रमुख आणविक केन्द्रमा योजनाबद्ध आक्रमण गरेको खुलेको छ । रोयटर्स र अमेरिकी अनलाइन प्लेटफर्म एक्सियसका अनुसार अमेरिकाले इरानलाई भ्रममा पार्दै फर्दो, नतान्ज र इस्फहानस्थित आणविक भट्टीहरूमा एकसाथ प्रहार गरेको हो ।

    सबैभन्दा महत्वपूर्ण आक्रमण तेहरान नजिकको फर्दोमा भएको हो । जहाँ पहाडमुनि सयौं फिट गहिराइमा रहेको बंकरमा इरानले आफ्नो संवेदनशील आणविक कार्यक्रम सञ्चालन गरिरहेको थियो । यस बंकरलाई ध्वस्त पार्न अमेरिकी वायुसेनाले अत्यन्त शक्तिशाली ‘बंकरभेदी’ बम न्द्यग्–५७ प्रयोग गरेको छ, जुन करिब १४ टन तौलको छ ।

    फर्दोमाथि आक्रमणका लागि अमेरिकाबाट उडाइएका बी–२ स्टेल्थ बमवर्षक विमानहरूले झण्डै १८ घण्टाको उडान पछि इरान पुगेका थिए । ६ वटा बी–२ विमानले फर्दोमा १२ वटा बम खसाले भने, अर्को विमानले नतान्ज क्षेत्रमा दुईवटा बम खसालेको पुष्टि भएको छ ।

    आक्रमण इरानी सुरक्षातन्त्रको आँखा छल्न कूटनीतिक र सैन्य रणनीतिले भरिएको थियो । रिपोर्टअनुसार, मिजोरीस्थित एक अमेरिकी सैन्य शिविरबाट बी–२ विमानहरू दुई समूहमा विभाजन गरिए । एक समूहका विमानहरू खुला ट्रयाकिङ हुने गरी प्रशान्त महासागरतर्फ गुआमतर्फ उडे । यसले इरानलाई अमेरिकाको ध्यान पश्चिमतर्फ रहेको भान पार्ने उद्देश्य राखिएको थियो ।

    त्यसैबेला अर्को समूहका ७ वटा स्टेल्थ बी–२ विमानहरू पूर्वतर्फ, इरानतर्फ उडे । ती विमानहरू ट्रयाक गर्न नसकिने प्रविधियुक्त थिए । अन्ततः ती विमानहरू निर्धारित लक्ष्यमा पुगेर सफल आक्रमण गरे ।

    यो अपरेसनमा अमेरिकी सहयोगी इजरायलको पनि महत्वपूर्ण भूमिका रहेको देखिन्छ । हमलाको केही दिन अघि अमेरिकाले इजरायललाई इरानी एअर डिफेन्स सिस्टमहरू कमजोर पार्न अनुरोध गरेको थियो । इजरायली आक्रमणपछि अमेरिका सजिलै इरानी आकासमा प्रवेश गर्न सक्षम भएको बताइएको छ ।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले यस आक्रमणबारे सार्वजनिक रूपमा केही नबोल्ने र सामाजिक सञ्जालमा पोस्ट नगर्ने निर्णय लिएका थिए । अमेरिकी सैन्य जनरलहरू आक्रमण गोप्य रहोस् भन्ने चाहनामा थिए, जसका लागि ट्रम्पलाई बुझाइदिइएको बताइन्छ ।

    मिडनाइट ह्यामर नाम दिइएको उक्त सैन्य अपरेसनमा अमेरिकाले १२५ भन्दा बढी विमान प्रयोग गरेको थियो । यसमा बी–२ बमवर्षक, एफ–३५ र अन्य लडाकु विमान, इन्धन बोक्ने ट्यांकर विमान र एक पनडुब्बीसम्म प्रयोग गरिएको थियो । पनडुब्बीबाट पनि इरानी भूभागमा क्रुज मिसाइल प्रहार गरिएको पुष्टि अमेरिकी रक्षा मन्त्रालयले गरेको छ ।

    गत जुन १३ मा इजरायली आक्रमणपछि इरानी सेना अमेरिकी सम्भावित आक्रमणको तयारीमा थिए । तर अमेरिकी सेनाले झुक्याउने रणनीति अपनाउँदै इरानी तयारीलाई निष्क्रिय तुल्याएको देखिन्छ । राष्ट्रपति ट्रम्पले दुई हप्ताभित्र निर्णय लिन्छु भनेको सन्देशले पनि इरानलाई झुक्याउन मद्दत गरेको हो ।

    यो आक्रमणले इरानी आणविक क्षमतामा कति क्षति पु¥यायो भन्नेबारे विस्तृत विवरण अझै आइसकेको छैन । तर अमेरिकी रणनीति, प्रविधि र योजनाबद्ध आक्रमण क्षमताको दृष्टिले यो अपरेसनलाई ‘अत्यधिक सफल’ मानिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images