images
images
  • नेतृत्व त्याग्न दबाबमा परेका माधवलाई देउवा–प्रचण्डको ढाडस, निरन्तर आलोचनामा ओली

    काठमाडौं– नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालको हालको राजनीतिक सक्रियता पार्टीभित्र भन्दा बाहिरका शक्तिहरूबाट प्रेरित देखिएको छ ।

    उनीमाथि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीको निरन्तर आलोचना भइरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने नेपाललाई नेतृत्व नत्याग्न सुझाव दिइरहेका छन् ।

    स्रोतका अनुसार पछिल्लो समय नेपाल स्वयं नै देउवा र प्रचण्डबीच दूतको भूमिकामा देखिएका छन् । विशेषतः भिजिट भिसा प्रकरणमा उत्पन्न विवाद समाधानका लागि दुवै दललाई सहमत गराउने प्रयासमा नेपाल अग्रसर भएका थिए ।

    यो प्रकरणमा गृहमन्त्री रवि लामिछानेको राजीनामाको मागलाई लिएर संसद् अवरुद्ध भइरहँदा नेपालले माओवादी केन्द्रलाई संसद् सञ्चालनमा फर्काउने भूमिका खेलेका थिए ।

    २९ जेठमा प्रचण्ड र नेपालबीच संसद्को अवरोध खुलाउने विषयमा महत्वपूर्ण छलफल भएको थियो । त्यसअघि नेपालले आफ्ना सांसदहरूलाई भिजिट भिसा प्रकरणमा गृहप्रतिको आक्रोश नियन्त्रणमा राख्न आग्रह गरेका थिए ।

    त्यसपछि माओवादी केन्द्र संसद् अवरुद्धको अडानबाट पछि हट्दै कांग्रेस र एमालेसँग सहकार्यमा उभिएको थियो । जसले संसद अवरोध अन्त्य गर्ने वातावरण बनायो ।

    राजनीतिक विश्लेषकहरूका अनुसार देउवाले प्रधानमन्त्री बन्न सक्ने अवस्था अध्यक्ष नेपालकै सहयोगले सम्भव भएको हुँदा अहिले उनी नेपाललाई अप्ठ्यारोमा नपार्ने रणनीतिमा छन् ।

    त्यसबेला तत्कालीन प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर नेकपाभित्र विभाजन ल्याउने प्रयास गर्दा देउवाले नै त्यो प्रयास रोक्न भूमिका खेलेका थिए । अहिले पनि नेपाल, प्रचण्ड र देउवाको त्रिकोणात्मक सम्बन्ध पुरानै समझदारी र साझा मोर्चा निर्माण गर्ने दिशातर्फ अघि बढिरहेको देखिन्छ ।

    स्रोत भन्छ, ‘देउवा र प्रचण्डको समर्थनले अध्यक्ष नेपालको आत्मबल बलियो बनेको छ । ओलीविरुद्धको संयुक्त मोर्चा बनाउने दीर्घकालीन योजनामा नेपाल नेतृत्वको भूमिका निभाउँदै आएका छन् । त्यही कारण विशेष अदालतमा रहेका मुद्दाहरूलाई छिटो टुंग्याएर राजनीतिक सहजीकरण गर्ने रणनीतिसमेत अहिलेको ब्याक च्यानल संवादको हिस्सा बनेको छ ।

    यसरी भित्री पार्टी दबाबको सामना गरिरहेका अध्यक्ष नेपाललाई कांग्रेस र माओवादी केन्द्रको समर्थनले बाह्य शक्ति सन्तुलन मिलाइदिएको देखिन्छ । जसले उनलाई हालको नेतृत्व कायमै राख्न सहजता प्रदान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images