तेहरान– इरानी संसद्ले आइतबार हर्मुज जलमार्ग बन्द गर्ने प्रस्ताव पारित गरेको छ । सांसद इस्माइल कोवसारीले सञ्चारमाध्यमसँग कुरा गर्दै संसद्बाट प्रस्ताव पारित भएको जानकारी दिए ।
यद्यपि संसद्को अनुमोदन मात्रमा प्रस्ताव कार्यान्वयन हुन समय लाग्ने बताइएको छ । अन्तिम निर्णय देशको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् र सर्वोच्च नेता आयतोल्लाह अलि खामेनीको हातमा छ ।
इरानी संसद्ले यो प्रस्ताव अमेरिकाले हालै इरानका तीन आणविक केन्द्रमा गरेको आक्रमणको जवाफस्वरूप अघि सारेको हो । तर, यसलाई व्यवहारमा उतार्ने निर्णय गर्नु खामेनीका लागि सजिलो छैन ।
एकातर्फ यस्तो कदमले अमेरिका र उसको गठबन्धनसँगको टकरावलाई चर्काउने खतरा रहन्छ भने अर्कोतर्फ आफ्नै आर्थिक हित र रणनीतिक साझेदारहरूमाथि असर पर्न सक्छ ।
हर्मुज जलमार्ग पर्सियन खाडी र ओमानको खाडी हुँदै अरब सागरमा पुग्ने प्रमुख समुद्री मार्ग हो । साउदी अरेबिया, युएई, कुवेत, इराक र इरानले यही मार्ग प्रयोग गरेर विश्व बजारमा तेल निर्यात गर्छन् । हाल विश्व बजारमा प्रयोग हुने झण्डै २० प्रतिशत तेल यही जलमार्ग भएर निर्यात हुन्छ ।
यदि इरानले जलमार्ग बन्द ग¥यो भने कच्चा तेलको भाउ अहिलेको ७८ अमेरिकी डलरबाट १०० डलरसम्म पुग्ने अनुमान गरिएको छ ।
इरानको कदमले अमेरिकाको आर्थिक हितमा असर पर्ने देखिन्छ । यद्यपि अमेरिका अहिले विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक मुलुक हो। तर तेलको मूल्यमा भएको वृद्धिले अमेरिकी बजारमा महँगी बढाउने सम्भावना छ। अमेरिका पेट्रोलियमको सबैभन्दा ठूलो उपभोक्ता देश हो । जसले विश्वको करिब २० प्रतिशत खपत गर्छ । यस्तो अवस्थामा तेलको भाउ बढ्दा अमेरिकाको आन्तरिक राजनीति र अर्थतन्त्रमा प्रभाव पर्न सक्छ ।
अर्कोतर्फ चीन, भारत, जापान र दक्षिण कोरिया जस्ता एसियाली मुलुकहरूको पनि हर्मुज जलमार्गमा गहिरो निर्भरता छ । चीनको ५० प्रतिशत, भारतको ४० प्रतिशत, जापानको ८० प्रतिशत र दक्षिण कोरियाको ७० प्रतिशत तेल यही बाटो भएर आउँछ । यीमध्ये चीन इरानको सबैभन्दा नजिकको साझेदार हो । जसलाई इरानले आफ्ना निर्यातको ९० प्रतिशत तेल बेच्ने गर्छ ।
यसैले हर्मुज जलमार्ग बन्द गर्ने निर्णय चीनका लागि प्रतिकूल हुन सक्छ । जुन इरानले सजिलै नजरअन्दाज गर्न सक्दैन ।
इरानले प्रति महिना करिब ३.५ अर्ब डलरको तेल यही जलमार्गमार्फत निर्यात गर्छ । पश्चिमी मुलुकहरूको प्रतिबन्धका कारण पहिल्यै आर्थिक संकट खेपिरहेको इरानका लागि यो मार्ग बन्द गर्नु आत्मघाती कदम हुन सक्छ । सम्भवतः इरानले यसलाई सांकेतिक रूपमा एक–दुई दिनका लागि अवरुद्ध गरेर सन्देश दिने प्रयास गर्न सक्छ ।
अन्तर्राष्ट्रिय कानुनअनुसार हर्मुज जलमार्ग अन्तर्राष्ट्रिय पानीमार्ग हो । जसलाई अवरुद्ध गर्नु गैरकानुनी मानिन्छ । इरानले अमेरिकाले अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै आक्रमण गरेको भन्दै नैतिक सन्देश दिन चाहेको हुन सक्छ ।
तर, यस्तो निर्णयले अमेरिका र उसका साझेदार मुलुकहरूलाई थप सैन्य कारबाहीतर्फ उक्साउन सक्छ । अमेरिका आफैंलाई समुद्री मार्गहरूको संरक्षकका रूपमा देखाउँछ र व्यापार अवरोध हुँदा हस्तक्षेप गर्नेदेखि सैन्य कदम चालेको इतिहास राख्दछ ।
इरानी संसद्को निर्णयले क्षेत्रीय तनावलाई झनै चर्काउन सक्छ । तर, वास्तविकता हेर्दा सर्वोच्च नेता खामेनीलाई हर्मुज जलमार्ग पूर्णरूपमा बन्द गर्ने निर्णय लिन दबाब र असहजता दुवै छन् । आर्थिक संकट, अन्तर्राष्ट्रिय कानुनको जोखिम र रणनीतिक साझेदारहरूसँगको सम्बन्धलाई मध्यनजर गर्दा यस्तो कदम उठाउनु इरानका लागि सजिलो हुनेछैन ।


विश्व खबर 


















