images
images
  • संसद्‌मा रास्वपाको प्रतिरोध फितलो, बैठक छोडेर विदेश सयरमा सांसद

    काठमाडौं– गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै संसद् अवरुद्ध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफैंभित्रबाट खुकुलिँदै गएको देखिएको छ ।

    संसद्मा अवरोध कायमै रहे पनि रास्वपाका धेरै सांसदहरू विदेश भ्रमणमा व्यस्त भएपछि पार्टीको प्रतिरोध अभियान कमजोर देखिएको हो ।

    संसद्मा विरोधका रूपमा वेल घेर्ने रणनीति अपनाउँदै आएको रास्वपाका सांसदहरू बैठकको कारबाहीमा सहभागी भएका छैनन् । तर, वेलमा उभिनेहरूको संख्या पहिलेभन्दा घटेको छ ।

    पार्टीका कार्यवाहक सभापति डीपी अर्यालसहितका केही प्रमुख सांसदहरू बैठकमा अनुपस्थित छन् ।

    पार्टी निकट स्रोतका अनुसार हाल रास्वपाका कम्तीमा पाँच सांसद छुट्टाछुट्टै कार्यक्रममा सहभागी हुन विदेश गएका छन् । उनीहरू एउटै समयमा बाहिर जानु पार्टीको प्रतिरोधलाई कमजोर बनाउने कदम भएको भन्दै स्रोतले असन्तोष व्यक्त गरेको छ ।

    कार्यवाहक सभापति अर्याल कतार गएका छन् । उनी त्यहाँ रास्वपाको प्रवास विभागद्वारा आयोजित कार्यक्रममा सहभागी हुन गएका हुन् । स्रोतका अनुसार उनको भ्रमण दुई–तीन दिनको हो ।

    प्रत्यक्ष निर्वाचित सांसद डा.तोसिमा कार्की अमेरिका पुगेकी छन् । उनले सामाजिक सञ्जालमार्फत जुन २१ देखि २९ सम्म विभिन्न राज्यमा हुने नेपाली समुदायसँगको भेटघाट कार्यक्रम सार्वजनिक गरेकी छन् । उनले आफू पुग्ने सहरमा स्थानीय नेपालीलाई सहभागी हुन आग्रह पनि गरेकी छन् ।

    सांसद गणेश पराजुली अष्ट्रेलियामा छन् । उनी पनि प्रवासी नेपाली सम्पर्क विभागको निमन्त्रणमा त्यहाँ गएका हुन् । असार ७ र ८ गते उनले सिड्नी र क्यानबेरामा नेपाली समुदायसँग अन्तरक्रिया गरेका छन् ।

    यता सांसदहरू हरि ढकाल र सोविता गौतम भारतको भ्रमणमा छन् । उनीहरू हाल बैंगलोरमा छन् । रास्वपाको कर्नाटक राज्य समिति घोषणा गर्ने कार्यक्रम तय भएको छ ।

    विदेश यात्रामा रहेका यी सांसदहरूको अनुपस्थितिले रास्वपाको संसद् प्रतिरोध रणनीति भित्रैबाट कमजोर हुँदै गएको आँकलन गरिएको छ । पार्टी नेतृत्वले औपचारिक रूपमा यसबारे धारणा सार्वजनिक गरिसकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images