काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई प्रतिशोध नलिन चेतावनी दिएका छन्। प्रमुख आणविक स्थलहरूमा अमेरिकाबाट भएको आक्रमणपछि ट्रम्पको यस्तो चेतावनी आएको हो। उनले इरानमा सत्ता परिवर्तनको विषय पनि उठाउँदै वर्तमान सरकारले देशलाई “महान” बनाउन नसके शासन परिवर्तन अपरिहार्य हुने संकेत दिएका छन्।
“सत्ता परिवर्तन भन्नु राजनीतिक रूपमा संवेदनशील विषय हुन सक्छ,” ट्रम्पले भने, “तर यदि इरानी सरकारले इरानलाई पुनः महान बनाउन सक्दैन भने, शासन परिवर्तन किन नहुनु पर्ने?”
ट्रम्पको यो अभिव्यक्ति उपराष्ट्रपति जेडी भान्स र रक्षा सचिव पिट हेग्सेथका भनाइपछि आएको हो, जसमा दुवैले इरानमा सत्ताच्युत गर्ने कुनै योजना नभएको स्पष्ट पारेका थिए। हेग्सेथले पेन्टागनमा पत्रकारहरूसँग भने, “यो अपरेशन सत्ता परिवर्तनका लागि होइन, इरानको आणविक कार्यक्रमविरुद्ध लक्षित सटिक कारबाही हो।”
एनबीसीको ‘मिट द प्रेस विथ क्रिस्टेन वेल्कर’ कार्यक्रममा उपराष्ट्रपति भान्सले पनि अमेरिकाको उद्देश्य इरानसँग दीर्घकालीन सम्झौतामा पुग्ने भएको बताए। “हामी सत्ताच्युत गर्न चाहँदैनौं, युद्ध लम्ब्याउन चाहँदैनौं,” उनले भने, “हामी केवल इरानको आणविक कार्यक्रम रोक्न चाहन्छौं।”
‘अपरेशन मिडनाइट ह्यामर’ नाम दिइएको उक्त कारबाहीबारे थोरै अधिकारीहरू मात्र जानकार थिए। संयुक्त चिफ अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनका अनुसार, सातवटा बी-२ बमवर्षक विमानले १८ घण्टा लामो उडानपछि इरानमा १४ वटा बंकर-बस्टर बम खसालेका थिए।
संयुक्त राष्ट्रसंघको आणविक निगरानी निकाय (IAEA) का प्रमुख राफेल ग्रोस्सीले अमेरिकी हमलाबाट इरानको फोर्डोस्थित युरेनियम सम्वर्द्धन केन्द्रमा उल्लेखनीय क्षति भएको पुष्टि गरे। तर भूमिगत संरचनाहरूको मूल्याङ्कन अझै बाँकी रहेको उनले बताए।
यता, रोयटर्सलाई दिएको जानकारीअनुसार, फोर्डोस्थित अधिकांश उच्च सम्वर्धित युरेनियम— जुन इरानको ६० प्रतिशत शुद्धतासम्म युरेनियम उत्पादन गर्ने मुख्य आधार हो— अमेरिकी आक्रमणअघि नै अज्ञात स्थानमा सारिएको थियो।
राष्ट्रपति ट्रम्पले फोर्डोमा पुर्याइएको क्षतिलाई “ऐतिहासिक” भनेका छन्। उनले एक दिनअघि नै इरानका प्रमुख आणविक केन्द्रहरू ध्वस्त गरिएको दाबी गरेका थिए।
यसबीच, इरानले इजरायलमा मिसाइल आक्रमण गरेको पुष्टि भएको छ, जसबाट दर्जनौं व्यक्ति घाइते भएका छन् भने तेल अविवका व्यापारिक भवनहरू क्षतिग्रस्त भएका छन्।
जनरल केनले अमेरिकी सेनाले इराक र सिरियास्थित आफ्नो सैन्य उपस्थिति थप बलियो बनाएको बताए। हाल अमेरिका मध्यपूर्वमा करिब ४० हजार सैनिक, आधुनिक हवाई रक्षा प्रणाली, लडाकु विमान र युद्धपोतसहित तैनाथ छ।


विश्व खबर 

















