images
images
  • अमेरिकामाथि आक्रमणको तयारीमा इरान

    तेहरान– अमेरिकाले आइतबार बिहान इरानका तीन परमाणु केन्द्रमा आक्रमण गरेपछि इरानले त्यसको कडा प्रतिक्रिया जनाउँदै जवाफी कदम अनिवार्य हुने चेतावनी दिएको छ ।

    इरानी विदेशमन्त्री अब्बास अराघ्चीले सीएनएनसँगको कुराकानीमा अमेरिकाले इरानको आणविक पूर्वाधारमा हमला गरेर सीमारेखा पार गरेको बताउँदै यस्तो क्रियाकलापको जवाफ नदिई नछाडिने घोषणा गरेका हुन् ।

    ‘हाम्रो आणविक पूर्वाधारमाथि हमला गरेर अमेरिकाले स्पष्ट रूपमा अन्तर्राष्ट्रिय कानुन र राष्ट्रसंघको घोषणापत्रको गम्भीर उल्लङ्घन गरेको छ,’ अराघ्चीले भने, ‘हामीले यो आक्रमणको प्रतिकार गर्नैपर्छ। यो हाम्रो आत्मरक्षाको अधिकार हो ।’

    उनले अझै पनि कुटनीतिक समाधानको सम्भावना कति बाँकी छ भन्नेमा अनिश्चितता व्यक्त गरे । तर अमेरिकी कदमले विश्व स्थायित्वमा गम्भीर असर पार्ने भन्दै उनले वाशिङ्टनले आफैं त्यसको जिम्मेवारी लिनुपर्ने चेतावनी पनि दिए ।

    अराघ्चीले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले तत्काल आपतकालीन बैठक डाकेर अमेरिकी सैन्य कारबाहीको भत्र्सना गर्नुपर्ने माग समेत गरेका छन् । साथै, अमेरिका अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घनको लागि जवाफदेही हुनुपर्ने उनले जोड दिए ।

    ‘इरानले न केवल अमेरिकी आक्रमणको प्रतिरोध गर्नेछ, तर इजरायली शासनका लापरवाह र अवैध गतिविधिहरूको समेत दृढ प्रतिकार गर्नेछ,’ अराघ्चीले स्पष्ट पारे ।

    शनिबार बिहान अमेरिकी सेनाले इरानका तीन प्रमुख आणविक केन्द्र फर्दो, नतान्ज र इस्फहानमा आक्रमण गरेको बताइएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ती सबै संरचना ध्वस्त पारिएको दाबी गरेका छन् । इरानले भने हालसम्म त्यसको औपचारिक पुष्टि वा प्रतिक्रिया दिएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images