काठमाडौं– अमेरिकाले अत्याधुनिक बंकर बस्टर बम प्रयोग गर्दै इरानको फोर्डो आणविक केन्द्रलाई लक्षित गरे पनि उक्त केन्द्र पूर्ण रूपमा ध्वस्त हुन नसक्नेमा विश्लेषकहरूबीच आशंका बढ्न थालेको छ ।
यो केन्द्र पहाडको गहिराइमा भूमिगत संरचनाभित्र रहेको छ । जसलाई सामान्य बम वा हवाई आक्रमणबाट तहसनहस पार्न कठिन हुने विश्वास गरिन्छ ।
अमेरिकी हवाई आक्रमणपछि इरानले विज्ञप्ति जारी गर्दै आफ्नो आणविक केन्द्रहरू सुरक्षित रहेको दाबी गरेको छ । आणविक ऊर्जा संगठनका अनुसार कुनैपनि आणविक संरचनामा क्षति पुगेको छैन ।
विकिरण चुहावटसम्बन्धी सबै परीक्षणहरूले नकारात्मक नतिजा देखाएका छन् । इरानले यस हमलालाई उकासिएको कदम भन्दै आलोचना गर्दै आएको छ ।
यी घटनाक्रमबीच इरानले पनि कडा जवाफी कारबाही थालेको छ । इजरायली रक्षा बलका अनुसार पछिल्लो २४ घण्टामा इरानले प्रत्यक्ष रूपमा इजरायलमाथि ४० वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । तेल अभिभ लगायतका सहरहरूमा साइरन बजेका छन् र नागरिकहरूलाई सतर्क रहन आग्रह गरिएको छ ।
प्रत्याक्रमणमा प्रयोग गरिएका क्षेप्यास्त्रहरू इजरायली सहरहरूमा पुग्न सफल भएका छन् । जसले इजरायलको सुरक्षा क्षमताबारे प्रश्न उठाएको छ । क्षेप्यास्त्रहरूले थुप्रै स्थानमा क्षति पु¥याएको खबर प्राप्त भइरहेको छ र उद्धार टोलीहरू घाइतेहरूको उपचारमा खटिएका छन् ।
सैन्य रणनीतिकारहरूले इरानको आक्रमणलाई इजरायलमाथिको अहिलेसम्मकै सबैभन्दा ठूलो एकल ब्यालिस्टिक हमला मानेका छन् । यो घटनाले इजरायल–इरान सम्बन्धलाई युद्धको सिमानामा पु¥याएको छ भने इजरायल यस्तो दीर्घकालीन द्वन्द्वमा टिक्न सक्ला कि सक्दैन भन्ने बहस पनि तीव्र बनेको छ ।


विश्व खबर 


















