काठमाडौं– भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
आइतबार सम्पन्न १७औँ नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले मध्य नेपालको सुन्दर शहरः समृद्ध र सुसंस्कृत भरतपुर महानगर भन्ने नारासहित बजेट प्रस्तुत गरेका हुन् ।
उक्त बजेटले अधुरा तथा क्रमागत आयोजना सम्पन्न गर्ने, शहरी पूर्वाधार विस्तार गर्ने, कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा केन्द्रित हुने स्पष्ट खाका प्रस्तुत गरेको छ ।
बजेटको स्रोत व्यवस्था
बजेटमा आन्तरिक आम्दानीबाट १ अर्ब ८० करोड रुपैयाँ, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब १५ करोड ७६ लाख, संघीय राजस्व बाँडफाँडबाट ३१ करोड ९१ लाख, र प्रदेश सरकारबाट १४ करोड ४ लाख ४१ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
त्यस्तै, जनसहभागिता मार्फत ५ करोड, बैंक मौज्दातबाट ७० करोड र सडक बोर्ड नेपालबाट ३ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
मुख्य क्षेत्रगत प्राथमिकता र खर्च विनियोजन
शहरी पूर्वाधार विकास
शहरी पूर्वाधारलाई उच्च प्राथमिकता दिँदै महानगरले अधुरा र क्रमागत आयोजना सम्पन्न गर्न ६० करोड, बहुवर्षीय ठेक्काका भुक्तानीका लागि २४ करोड ५० लाख, र वडास्तरीय आयोजनाका लागि ९४ करोड ७८ लाख रुपैयाँ विनियोजन गरेको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम सम्पन्न गर्न साझेदारीमा ४ करोड र महानगरको नयाँ प्रशासनिक भवन निर्माणका लागि पनि ४ करोड छुट्याइएको छ ।
कृषि तथा पशुपालन
उत्पादन वृद्धिमार्फत आत्मनिर्भर महानगर बनाउने उद्देश्यसहित कृषि तथा पशुविकासका लागि ९ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ । यसअन्तर्गत कृषक क्षमतावृद्धि, एग्रो टुरिजम प्रवद्र्धन र दूध उत्पादनमा अनुदान कार्यक्रम सञ्चालन गरिनेछ ।
शिक्षा र स्वास्थ्य
गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्न शैक्षिक कार्यक्रमका लागि १० करोड ५० लाख र स्वास्थ्य सेवा सुधारका लागि ३ करोडभन्दा बढी बजेट छुट्याइएको छ । भरतपुर अस्पतालमा निःशुल्क ओपिडी टिकट वितरण कार्यक्रमलाई निरन्तरता दिइने छ ।
सामाजिक विकास तथा रोजगार
छोरीहरुको लागि बाल उमङ्ग जीवन बीमा कार्यक्रमलाई निरन्तरता दिँदै युवा तथा खेलकुदका लागि १ करोड ५० लाख छुट्याइएको छ । मेयर कप र उपमेयर कप खेलकुद प्रतियोगिताका लागि क्रमशः ३० लाख र १२ लाख विनियोजन गरिएको छ । त्यस्तै, उद्यमशीलता प्रवद्र्धन र रोजगारी सिर्जना गर्न १ करोड छुट्याइएको छ ।
वातावरण र सरसफाइ
महानगरले मासिक ७ हजार लिटरसम्मको निःशुल्क खानेपानी सेवा कायम राख्दै वातावरणीय सरसफाइ र हरियाली विस्तारमा ४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।
दिगो विकासको प्रतिबद्धता
बजेट प्रस्तुत गर्दै उपप्रमुख अधिकारीले प्रस्तुत कार्यक्रमले भरतपुरवासीको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने र दिगो तथा समावेशी विकासतर्फ महानगरले महत्वपूर्ण प्रगति गर्ने विश्वास व्यक्त गरे ।


विश्व खबर 


















