images
images
  • संसद्‌मा रास्वपाको वेल घेराउ, गृहमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी

    काठमाडौं– आइतबारको संसद् बैठक पनि नाराबाजी र वेल घेराउले तनावग्रस्त रह्यो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दुवैले बैठक सुरु भएलगत्तै विरोध जनाएका थिए ।

    सभामुख देवराज घिमिरेले रास्वपाका सांसद असिम साहलाई बोल्ने अवसर दिए । सांसद साहले भिजिट भिसा प्रकरण उठाउँदै गृहमन्त्री रमेश लेखकविरुद्ध छानबिनको माग गरे । उनले मुलुकमा ‘लुटको सिन्डिकेट’ चलिरहेको आरोपसमेत लगाए ।

    त्यसपछि सभामुखले राप्रपाका सांसद धवल शमशेर राणालाई बोल्न दिए । राणाले गत चैत १५ गते तीनकुनेमा राज्यको कारण दुई जनाको मृत्यु भएको तथा निजी घरहरूमा तोडफोड र आगजनी गरिएको दाबी गरे ।

    राप्रपाका सांसदको मन्तव्यपछि रास्वपाका सांसदहरूले पुनः वेल घेरेर नाराबाजी गरे । प्रतिनिधि सभामा अहिले आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल जारी छ ।

    आजको बैठकमा युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, अर्थ, सहरी विकास मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपति कार्यालयको विनियोजनमाथि छलफल हुँदैछ । साथै, सांसदहरूले पेश गरेका खर्च कटौतीका प्रस्तावहरू पनि प्रस्तुत हुनेछन् ।

    सभामुख घिमिरेले बैठकमा प्रतिनिधिसभाका विषयगत समितिमा सदस्यहरूको नाम हेरफेर गरिएको जानकारी दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पनि सुनाएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images