काठमाडौं– इरानका आणविक स्थलहरूमा अमेरिकी आक्रमणपछि अमेरिकी राजनीतिमा तीव्र ध्रुवीकरण देखिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्त निर्णय डेमोक्र्याटहरूबाट कडा आलोचना भोगिरहेकै बेला रिपब्लिकन नेताहरू भने त्यसको बचाउमा उत्रिएका छन् ।
अमेरिकी संसद्का अल्पसंख्यक नेता हाकिम जेफ्रीजले सामाजिक सञ्जाल एक्समा लेख्दै भनेका छन्, ‘इरानमाथिको आक्रमणले सम्भावित युद्धको खतरा गम्भीर रूपमा बढाएको छ ।
राष्ट्रपति ट्रम्पले संसद्को स्वीकृति नलिइकन एकपक्षीय रूपमा सैन्य शक्ति प्रयोग गरेर देशलाई खतरातर्फ डोर्याएका छन् ।’ उनले थपे, ‘ट्रम्पले यस निर्णयबाट उत्पन्न हुने सबै नकारात्मक परिणामहरूको पूर्ण जिम्मेवारी लिनुपर्छ ।’
डेमोक्र्याट सिनेटर बर्नी स्यान्डर्सले पनि आक्रमणलाई गम्भीर रूपमा असंवैधानिक ठहर गर्दै भने, ‘अमेरिकालाई युद्धमा लैजाने निर्णयको अधिकार केवल संसद्लाई छ, राष्ट्रपतिसँग होइन ।’
तर, रिपब्लिकन सिनेटर मिच म्याककोनेल भने ट्रम्पको निर्णयलाई साहसिक र आवश्यक कदम भनेर समर्थन गरेका छन् ।
उनले भने, ‘इरानलाई आणविक हतियार बनाउने बाटोमा रोक लगाउन ट्रम्पको स्पष्ट र दृढ निर्णय आवश्यक थियो। यो युद्धको सुरुवात होइन, बरु तेहरानका युद्धप्रेमी नेताहरूका लागि गम्भीर चेतावनी हो ।’
यता, डेमोक्र्याट सिनेटर मार्क वार्नरले भने ट्रम्पको कदमले अमेरिका अनावश्यक र दीर्घकालीन द्वन्द्वतर्फ तानिने जोखिम बढाएको बताउँदै राष्ट्रपतिलाई संसद्मा आएर आफ्नो रणनीति र उद्देश्य स्पष्ट गर्न आग्रह गरेका छन् ।
इरानले फोर्डो, नातान्ज र इस्फहानस्थित आफ्नो आणविक क्षेत्रहरूमा अमेरिकी आक्रमण भएको पुष्टि गरिसकेको छ । यस घटनाले पश्चिम एसियाली क्षेत्रमा तनाव थप चुलिएको छ ।


विश्व खबर 


















