images
images
  • एमालेमा भण्डारीको सम्भावित कमब्याकले तेस्रोपटक नेतृत्वमा पुग्न ओलीलाई सकस

    काठमाडौं– जेठ २५ मा अनेरास्ववियुको २४औँ महाधिवेशन उद्घाटनका क्रममा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानको ७० वर्षे उमेर सीमा हटाउनुपर्नेमा जोडदिए ।

    ७४ वर्षे ओली आफैंले विधानअनुसार उमेदवार बन्ने मापदण्ड नपुगेको स्वीकार गरे । अहिले एमालेको आगामी भदौमा हुने विधान महाधिवेशनलाई लक्षित गर्दै यो प्रावधान हटाउने प्रयास चलिरहेको छ ।

    तर, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित धेरै सचिवालय सदस्य भने उमेर सीमा कायम राख्नुपर्ने पक्षमा छन् । पोखरेलले सार्वजनिक रूपमा दुई कार्यकाल र ७० वर्षे हदको प्रावधानलाई निरन्तरता दिनुपर्ने बताउँदै आएका छन् । यसले ओलीको नेतृत्वलाई चुनौती दिन थालेको देखिन्छ ।

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता र सम्भावित ‘कमब्याक’को तयारीले पनि ओलीको दबाब बढाएको छ । पार्टीको नेतृत्व परिवर्तनको चर्चा शिखरमा पुगेको छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल पनि भित्रभित्रै नेतृत्वका आकांक्षी देखिएका छन् ।

    २०७८ सालमा ओलीकै लागि संशोधित गरिएको ७० वर्षेहदको व्यवस्था फेरि विवादमा तानिँदैछ । दुई वर्षअघि नेकपा (एकीकृत समाजवादी)बाट फर्किन चाहने नेताहरूलाई व्यवस्थापन गर्न यो प्रावधान अन्तरिम रूपमा हटाइएको थियो । अब महाधिवेशनले त्यसलाई अनुमोदन गर्ने वा खारेज गर्ने भन्ने अन्योल कायमै छ ।

    पार्टीभित्र ओलीको छत्रता घट्दै गएको र पोखरेलको अडान संस्थापन धारमै बलियो बन्दै गएको सन्देश दिएका छन् । एमालेको नेतृत्व आगामी महाधिवेशनपछि कस्को हातमा जाने हो भन्ने प्रश्नले अहिले आन्तरिक राजनीति तातेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images