काठमाडौं– इजरायलस्थित नेपाली दूतावासले इजरायल र इरानबीच बढ्दो द्वन्द्वको पृष्ठभूमिमा त्यहाँ रहेका नेपाली नागरिकहरूको उद्धार र स्वदेश फिर्तीका लागि विवरण संकलनको प्रक्रिया सुरु गरेको छ ।
तेल अविवस्थित नेपाली दूतावासले सोमबार सूचना प्रकाशित गर्दै उद्धार तथा अन्य आवश्यक कार्यका लागि इच्छुक नेपाली नागरिकहरूलाई अनलाइन फारममार्फत विवरण दर्ता गर्न आग्रह गरेको छ ।
“इजरायलमा उत्पन्न पछिल्लो सुरक्षाजन्य अवस्थाका कारण समस्यामा परेका वा त्रासमा रहेका नेपाली नागरिकहरूको पहिचान र आवश्यक सहयोगका लागि आधार तयार गर्न विवरण संकलन प्रक्रिया सुरु गरिएको हो,” दूतावासको सूचनामा उल्लेख छ ।
इच्छुक व्यक्तिहरूले दूतावासले तोकेको अनलाइन दर्ता प्रणालीमार्फत आफ्नो विवरण पेश गर्न सक्ने जनाइएको छ ।
युद्धको सम्भाव्यता गहिरिँदै जाँदा अन्य धेरै मुलुकहरूले पनि आफ्नो नागरिकको उद्धार प्रक्रिया सुरु गरिसकेका छन् ।
यसै सन्दर्भमा, नेपाली दूतावासले पनि अग्रसरता लिँदै स्वदेश फर्कन चाहने नागरिकहरूको सूची तयार गर्न थालेको हो ।























