काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच मंगलबार साँझ बालुवाटारमा करिब डेढ घन्टा लामो भेटवार्ता भएको छ ।
ओलीलाई भेट्न भण्डारी साँझ ६ बजेतिर बालुवाटार पुगेकी थिइन् । बालुवाटार स्रोतका अनुसार उनीहरूबीच समसामयिक राजनीतिक विषयमा विस्तृत कुराकानी भएको हो ।
पूर्वराष्ट्रपति भण्डारी पछिल्लो समय पुनः सक्रिय राजनीतिमा फर्किन इच्छुक रहेको स्पष्ट संकेत गर्दै आएकी छन् ।
चीन भ्रमण सकेर नेपाल फर्किएपछि उनी कोशी प्रदेशका विभिन्न जिल्लामा आयोजित कार्यक्रमहरूमा सहभागी भएकी छिन् ।
त्यसअघि पनि उनी गण्डकी, लुम्बिनी र कोशी प्रदेशमा विभिन्न राजनीतिक क्रियाकलापमा संलग्न देखिएकी थिइन् ।
यसरी सार्वजनिक रुपमा देखिएको उनको सक्रियता र दौडधूपलाई सक्रिय राजनीतिमा पुनः प्रवेशको संकेतका रूपमा हेरिएको छ ।
यसै सन्दर्भमा प्रधानमन्त्री ओली र भण्डारीबीच भएको छलफललाई विशेष महत्वका साथ हेरिएको छ ।
भेटका क्रममा चीन भ्रमणको अनुभव, समसामयिक राजनीतिक परिस्थितिहरू, सरकारको कार्यसम्पादन र पार्टी संगठनका विषयमा कुराकानी भएको भण्डारी निकट एक नेताले जानकारी दिएका छन् ।























