images
images
  • बुर्किना फासोका राष्ट्रपति ट्राओरे : नयाँ अफ्रिकी युगका प्रतीक

    काठमाडाैं– अफ्रिकी देश बुर्किना फासोका ३७ वर्षीय राष्ट्रपति इब्राहीम ट्राओरे आज विश्वकै ध्यान तानिरहेका छन्। आत्मनिर्भरता, राष्ट्रिय स्वाभिमान र भ्रष्टाचारविरोधी कडा अभियानका कारण उनी मात्र बुर्किना फासोका होइन, सम्पूर्ण अफ्रिकी महादेशका युवाहरूका लागि प्रेरणाका स्रोत बनेका छन्।

    राष्ट्रपतिमा पदस्थापन हुनु अघि सैनिक अधिकृतको रूपमा कार्यरत ट्राओरेले देशमा बढ्दो अशान्ति, गृहयुद्ध र विदेशी हस्तक्षेपको विरुद्ध २०२२ मा सैनिक शासन स्थापना गरे। त्यतिबेला उनी सेनाको मेजर पदमा थिए। सेनाले राष्ट्रप्रमुखको हैसियतमा उनलाई पूर्ण समर्थन गरेपछि देशको नेतृत्व उनले सम्हाले।

    उनले सत्तामा आएलगत्तै देशका सुन र हिराका खानीमाथि विदेशी प्रभुत्व अन्त्य गर्दै राष्ट्रियकरण गरे। फ्रान्सेली सेना र पश्चिमा निजी कम्पनीहरूलाई देशबाट हटाएर खानीहरूको नियन्त्रण राज्यमा फर्काए। अमेरिकन व्यवसायी एलन मस्कको लगानी प्रस्तावलाई अस्वीकार गर्दै देशकै स्रोतबाट उत्खनन अघि बढाए। IMF जस्ता विदेशी ऋणदाताहरूको सहयोग पनि अस्वीकार गरे।

    साउदी अरबले २०० मस्जिद निर्माणको प्रस्ताव राख्दा उनले स्पष्ट रूपमा भने, “हामीलाई मस्जिद होइन, अस्पताल र विद्यालय चाहिएको छ।” मुस्लिम राष्ट्रको राष्ट्रपति हुँदाहुँदै उनले जनताको आधारभूत आवश्यकता प्राथमिकता दिनु उनको दूरदृष्टि र इमान्दारिताको प्रमाण हो।

    राष्ट्रपति ट्राओरेको नेतृत्वमा बुर्किना फासोको GDP उल्लेखनीय रूपमा वृद्धि भएको छ। कृषि, निर्माण र औद्योगिक क्षेत्रमा तीव्र सुधार आएको छ। देशका भ्रष्टाचारीलाई कडा कारबाही गर्दै उनले प्रशासनिक सफाइ गरेका छन्। उनी अहिले पनि मेजरकै तलबमा काम गरिरहेका छन् र जुनसुकै अन्तर्राष्ट्रिय सम्मेलनमा पनि सैनिक पोशाकमै देखिन्छन्।

    विश्वका प्रमुख राष्ट्रहरूसमेत ट्राओरेको नेतृत्वशैलीबाट प्रभावित भएका छन्। रुसी राष्ट्रपति पुटिनले उनलाई सलाम गरे भने चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘उदाउँदो विश्व नेता’को संज्ञा दिए। उत्तर कोरियाली नेता किम जोङ उनले ‘बुर्किना फासोको सुरक्षाका लागि सैनिक सहयोग दिन तयार’ रहेको घोषणा गरेका छन्।

    ट्राओरेप्रति आमजनताको विश्वास र समर्पण यति उच्च छ कि राष्ट्रपति कार्यालयको सुरक्षा जनताले आफैँ दिन थालेका छन्। २० भन्दा बढी राष्ट्रप्रमुखको हत्या भइसकेको इतिहास बोकेको देशमा, उनीमाथि जनताको विश्वास अटुट छ। बाटोमा फोटो देखे पनि ढोग्ने, निन्द्राविना पहरा दिने जनताको साथ आजको बुर्किना फासोको नयाँ अध्याय हो।

    ट्राओरे ३४ वर्षकै उमेरमा राष्ट्रप्रमुख बनेका थिए। मास्टर्स पढाइ सकेर सेनामा प्रवेश गरेका उनी एक शिक्षित, अनुशासित र राष्ट्रप्रति समर्पित नेतृत्वकर्ताको उदाहरण हुन्।

    नेपालजस्ता विकासोन्मुख देशका लागि ट्राओरेको विचार र कार्यशैली अनुकरणीय हुन सक्छ। देश बनाउने हो भने सोच, नेतृत्व र निष्ठा बदल्नैपर्छ भन्ने सन्देश ट्राओरेको उदाहरणले दिन्छ।

    प्रतिक्रिया दिनुहोस्

    images