काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले लगाएको पोशाक संसद्भित्रै चर्चा र विवादको विषय बनेको छ ।
पार्टीका केही सांसदहरू औपचारिक पोशाकको सट्टा ‘क्याजुअल’ अर्थात् अनौपचारिक लुगा लगाएर संसद् उपस्थित भएपछि सदनभित्रै आलोचना भएको हो ।
जिन्स पाइन्ट र टी–शर्ट शैलीको पोशाकप्रति कांग्रेसका प्रमुख सचेतक एवं संघीय सांसद श्याम घिमिरले असन्तोष व्यक्त गरे ।
नेपाली संसद्को परम्परा अनुसार पुरुष सांसदहरूले दौरा–सुरुवाल वा औपचारिक सूट र महिला सांसदहरूले सभ्य तथा औपचारिक लुगा लगाउने चलन छ ।
तर, आज रास्वपाका केही सांसदहरूले त्यो परम्परालाई बेवास्ता गरेको आरोप लागेको छ ।
सत्तापक्षका एक सांसदले भने, ‘संसद मर्यादा र अनुशासनको ठाउँ हो । यहाँ भिडभाडको कार्यक्रममा जस्तो लुगा लगाएर आउन मिल्दैन । जनप्रतिनिधिको पहिचान पोशाकबाट पनि झल्किन्छ ।’
तर, रास्वपाका सांसदहरूले भने आफूहरू ‘पुराना राजनीतिक ढाँचाबाट फरक सोच’ बोकेको भन्दै पोशाकप्रति गरिएको आलोचना अनावश्यक भएको जिकिर गरेका छन् ।
संविधान तथा संसदसम्बन्धी नियमावलीमा पोशाकको स्पष्ट निर्देश भने छैन । तर, संसद सचिवालयका अनुसार औपचारिक, मर्यादित र राष्ट्रिय पहिचान झल्काउने पोशाक लगाउनु शिष्टाचारको कुरा हो ।
संसद्जस्तो औपचारिक र संवैधानिक निकायमा जनप्रतिनिधिको भेषभूषाले राष्ट्रिय मर्यादासँग मेल खाने आवश्यकताको बहसले यस घटनालाई थप गम्भीर बनाएको छ ।
यसले आगामी दिनमा संसद्का लागि पोशाकसम्बन्धी स्पष्ट निर्देशिका ल्याउने सम्भावनालाई बल दिन सक्छ ।























