images
images
  • माधव नेपालले अध्यक्ष पद छाड्न नचाहेपछि एकीकृत समाजवादीमा नेतृत्वका लागि द्वन्द्व

    काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल भ्रष्टाचार मुद्दामा सांसद पद निलम्बनमा परे पनि पार्टी अध्यक्ष पद नछोड्ने अडानमा छन् ।

    अख्तियारले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेपछि जेठ २२ गते उनको सांसद पद स्वतः निलम्बनको छ । तर, अध्यक्ष पद छोड्न कानुनी बाध्यता नभएको भन्दै उनले जिम्मेवारी नत्याग्ने संकेत गरेका छन् ।

    पार्टीभित्र भने नेपालले अध्यक्ष पद छोड्नुपर्ने र तत्काल संसदीय दलको नेता चयन गर्नुपर्ने मतहरू देखिएका छन् । यसले समाजवादी पार्टीभित्र दुई धारको संघर्ष देखिएको छ । एक पक्ष नेपालले नै अध्यक्ष रहनुपर्ने धारणा राख्छ भने अर्को पक्ष नेतृत्व परिवर्तन आवश्यक ठान्छ ।

    पार्टीमा तीन खालका धार देखिएका छन् । एक– नेपाललाई नै अध्यक्ष राख्ने, दुई– राजेन्द्र पाण्डेलाई कार्यवाहक अध्यक्ष बनाउने र तीन– वरिष्ठ नेता झलनाथ खनाललाई नेतृत्व दिनुपर्ने ।

    खनालले अघिल्लो महाधिवेशनमा नेपाललाई अध्यक्ष बनाउन सहयोग गरेका थिए भन्ने तर्क पनि त्यस समूहले गरेको छ । तर, नेपाल खनाललाई जिम्मेवारी दिने पक्षमा नरहेको स्रोतको दाबी छ ।

    अहिले नेपाल संसदीय दलको नेता चयन नगरी उपनेता पाण्डेमार्फत काम अघि बढाउने सोचमा छन् । बजेट पारित भएपछि संसद् पनि लामो समय नचल्ने भएकाले दलको नेतृत्वको विषय केही समयलाई ओझेलमा राख्ने रणनीति देखिएको छ ।

    स्रोतका अनुसार नेपाल अध्यक्ष रहँदै मुद्दा लड्दा सजिलो हुने र छिटो टुंग्याउन सकिने विश्वासमा पनि छन् । सचिवालयको बैठक असार पहिलो साता बस्ने तयारीमा छ । त्यसबेला यो विषयमा निर्णयको प्रयास हुने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images