काठमाडौं– नेपाल विद्यार्थी संघ (नेविसंघ)को महाधिवेशन गराउने विषयमा सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठक निष्कर्षविहीन बनेको छ ।
बैठकमा महाधिवेशन निर्देशन समितिका संयोजक तथा सहमहामन्त्री किशोरसिंह राठोर अनुपस्थित भएपछि स्पष्ट निर्णय हुन सकेन ।
सभापति देउवाले नेविसंघको हालको तदर्थ समिति नै महाधिवेशन गराउने कि नयाँ संयन्त्र बनाउने भन्नेबारे छलफलका लागि निर्देशन समिति र तदर्थ समितिका पदाधिकारीलाई बोलाएका थिए । तर राठोर स्वास्थ्य कारण देखाउँदै नआएपछि निर्णयमा पुग्न नसकेको हो ।
बैठकमा देउवासँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, निर्देशन समितिका सदस्य प्रतिमा गौतम र कांग्रेस विद्यार्थी विभाग प्रमुख राजीव ढुंगाना सहभागी थिए ।
गौतमले अब तदर्थ समितिले होइन, निर्देशन समितिले पार्टीको कार्यादेश अनुसार महाधिवेशन गराउनेबारे छलफल भएको जानकारी दिइन् । सहमहामन्त्री राठोर विगतदेखि नै संगठनभित्रको भूमिकाबारे असन्तुष्ट रहँदै आएका छन् ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पार्टीले अन्तिम निर्णय लिनुपर्ने भूमिकाबाट उनलाई पन्छ्याएको अनुभव उनले सार्वजनिक रूपमा व्यक्त गरेका थिए ।
कांग्रेसको केन्द्रीय समिति बैठक असार १५ गतेका लागि बोलाइएको छ । त्यसअघि फेरि एकपटक निर्देशन समिति र तदर्थ समितिसँग पार्टीका शीर्ष नेताहरूले छलफल गर्ने तयारी गरिएको छ ।























