
काठमाडौं– पाकिस्तानका उप–प्रधानमन्त्री एवं विदेशमन्त्री इशाक दारले सामाजिक सञ्जालमा फैलिएको ‘गैरजिम्मेवार’ र ‘बनावटी’ नक्कली समाचारलाई कडा शब्दमा अस्वीकार गरेका छन् ।
उक्त नक्कली समाचारले पाकिस्तानले इरानमाथि कुनै आक्रमण भएमा बदलास्वरूप इजरायलमाथि आणविक आक्रमण गर्नेछ भनी एक वरिष्ठ इरानी जनरलको नाममा गलत रूपमा दाबी गरेको थियो ।
सोमबार सिनेटमा बोल्दै दारले बढ्दो क्षेत्रीय तनावका सन्दर्भमा गलत सूचनाको प्रसारको निन्दा गरे र इजरायल र इरानबीच बढ्दो द्वन्द्वको बीचमा संयमता अपनाउन आग्रह गरे । ‘पाकिस्तानले त्यस्तो कुनै बयान दिएको छैन । यो अत्यन्त गैरजिम्मेवार र बनावटी दाबी हो,’ उनले भने ।
उनले ‘युद्ध कुनै मजाक होइन’ भनी चेतावनी दिए र देशको आणविक र क्षेप्यास्त्र कार्यक्रमहरू विशुद्ध रूपमा आत्मरक्षाका लागि भएको कुरा दोहो¥याए । ‘हाम्रो आणविक र क्षेप्यास्त्र कार्यक्रम हाम्रो आफ्नै सुरक्षाका लागि हो,’ उनले सांसदहरूलाई भने, ‘हामीले सन् १९९८ मा हाम्रा आणविक हतियारहरू रक्षा र क्षेत्रीय शान्तिका लागि हुन् भनेर भनेका थियौँ । हामीले एनपिटी (आणविक हतियारको अप्रसार) मा हस्ताक्षर गरेका छैनौँ किनभने हाम्रो सुरक्षाका लागि विश्वसनीय प्रतिरोध कायम राख्नु आवश्यक छ ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गलत रूपमा श्रेय दिइएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले बनाएको भिडियो र पाकिस्तानको आणविक मुद्राका बारेमा गलत जानकारीलाई उद्धृत गर्दै उपप्रधानमन्त्री दारले सामाजिक सञ्जालमा नक्कली समाचारको प्रसारको पनि आलोचना गरे ।
‘त्यहाँ ट्रम्पका बारेमा एक भिडियो क्लिप थियो जुन पछि एआई–जेनेरेटेड भएको पत्ता लाग्यो,’ उनले भने, ‘जुन १३ देखि धेरै नक्कली कथाहरू सतहमा आएका छन् । प्रसारण भइरहेको नेतान्याहु (इजरायली प्रधानमन्त्री) को अन्तर्वार्ता सन् २०११ को हो । यो बालबालिकाको खेल होइन, यो गम्भीर युद्ध हो । हामीले सावधानीका साथ काम गर्नुपर्छ ।’
पाकिस्तानले रचनात्मक कूटनीतिक भूमिका खेलेको पनि उनले स्पष्ट पारे । ‘हामीले संयुक्त राष्ट्र सुरक्षा परिषद्को अधिवेशनमा सहभागिता जनायौँ । इरानले पाकिस्तानको भूमिकाको प्रशंसा गरेको छ,’ दारले भने, ‘ओमान र इरानका विदेशमन्त्रीहरूले मलाई जानकारी गराउनुभयो । वार्ताका क्रममा इरानका विदेशमन्त्री निरन्तर सम्पर्कमा रहनुभयो ।’
यदि इजरायल थप आक्रमणबाट टाढा रह्यो भने इरान वार्ताका लागि खुला रहेको दारले खुलासा गरे । ‘पहिलो आक्रमणपछि मैले इरानका विदेशमन्त्रीसँग कुरा गरेँ । उनले भने कि उनीहरूले जवाफ दिनुहुनेछ तर इजरायलले फेरि जवाफ नदिएमा वार्ताका लागि तयार हुनुहुन्छ । हामीले यो इच्छा अन्य राष्ट्रहरूलाई सूचित ग¥यौँ । इजरायललाई रोक्न अझै समय छ–इरान तयार छ,’ उनले भने । –रासस
प्रतिक्रिया दिनुहोस्