
काठमाडौं– तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनसम्बन्धी मुद्दाका अभियुक्त राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा मंगलबार उपस्थित भएका छन् ।
उनको थुनछेक बहस आजै हुने जनाइएको छ । बहसपछि मिश्रलाई थुनामा पठाउने वा नपठाउने निर्णय अदालतले गर्नेछ ।
यसअघि सोही घटनाका अर्का अभियुक्त राप्रपाका महामन्त्री शवलशम्शेर राणा सोमबार अदालतमा उपस्थित भएका थिए । अदालतले राणालाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
मिश्रसहित उनीहरूमाथि यही जेठ ११ गते राज्यविरुद्धको अपराध, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत अपराधसम्बन्धी अभियोगमा मुद्दा दर्ता गरिएको थियो ।
राजसंस्था पुनःस्थापनाको मागसहित आयोजित सो प्रदर्शन हिंसात्मक बन्दै दुईजनाको मृत्यु हुने अवस्था सिर्जना भएको थियो ।
उक्त दिन प्रदर्शनमा मिश्रले दिएको उत्तेजक अभिव्यक्तिले भिड झन् आक्रोशित भएको भन्दै उनीविरुद्ध मुद्दा चलाइएको हो ।
उक्त घटनाका योजनाकार मानिएका दुर्गा प्रसाईंलाई भने अदालतले थुनामा पठाइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्