images
images
  • कांग्रेस एउटै गुटमा विवाद : भ्रातृ संगठन खारेजको पक्षमा गगन, म्याद थपको अडानमा देउवा

    काठमाडौं– नेपाली कांग्रेसले महाधिवेशन गर्न दिएको अन्तिम समयसीमासमेत उल्लंघन गरेका ७ भ्रातृसंस्थाका तदर्थ समितिबारे पार्टी नेतृत्वभित्र गम्भीर मतभेद देखिएको छ । सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच तदर्थ समितिको म्याद थप्ने वा खारेज गर्ने विषयमा धारणा पूर्णरूपमा बाझिएको छ ।

    पार्टी पदाधिकारी बैठकले गत फागुन १ गते १० भ्रातृसंस्थालाई चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गरी निर्वाचित कार्यसमिति गठन गर्न निर्देशन दिएको थियो ।

    तीमध्ये नेपाल प्रजातान्त्रिक सेनानी संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ र नेपाल भूतपूर्व सैनिक संघले तोकिएको समयभित्र महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरिसकेका छन् ।

    तर, नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल थारू संघ, नेपाल दलित संघ, नेपाल किसान महासंघ र नेपाल लोकतान्त्रिक खेलकुद संघले पार्टीको निर्देशन उल्लंघन गर्दै अहिलेसम्म महाधिवेशन गर्न सकेका छैनन् । दुई महिना समय गुज्रिसक्दा पनि पार्टीले यी संस्थाका तदर्थ समिति खारेज गरेको छैन ।

    देउवाको प्रस्ताव : अन्तिम पटक म्याद थपौँ

    सभापति देउवा अहिलेका तदर्थ समितिलाई खारेज गरेर नयाँ समिति बनाउँदा पनि तत्काल महाधिवेशन गराउन सकिने अवस्था नरहेको भन्दै अन्तिम पटकका लागि म्याद थप्नुपर्ने पक्षमा छन् । देउवाले जेठ १९ गतेको पदाधिकारी बैठकसहित पछिल्ला बैठकहरूमा समेत सोही धारणा दोहोर्याउँदै आएका छन् । उनका अनुसार नयाँ नेतृत्वलाई संगठन बुझ्न समय लाग्ने भएकाले अहिलेको समितिलाई नै समय थपेर भरपर्दो कार्यतालिका माग्ने विकल्प उत्तम हुनेछ ।

    थापाको फरक मत : असक्षम समिति खारेज गरौँ

    महामन्त्री गगन थापा भने देउवाको यो प्रस्तावसँग असहमत छन् । थापाका अनुसार अहिलेसम्म महाधिवेशन गर्न नसक्नेले अब पनि गर्न सक्दैन । त्यसैले तदर्थ समिति खारेज गरेर नयाँ समिति गठन गर्नु आवश्यक छ । उनले भने, ‘म्याद थप्नु भनेको समय खेर फाल्नु हो ।’

    मिलाउने प्रयास : निर्देशन समिति र तदर्थ समिति एकै ठाउँमा

    सभापति र महामन्त्रीबीच मत नमिलेपछि कांग्रेसले भ्रातृसंस्थाका निर्देशन समिति र तदर्थ समितिलाई एउटै ठाउँमा राखेर महाधिवेशन कार्यतालिका माग्ने रणनीति बनाएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यो प्रक्रिया अघि बढाएका छन् ।

    जेठ ३० गते उनीहरूले नेपाल दलित संघका निर्देशन समिति र तदर्थ समितिसँग संयुक्त छलफल गरेका थिए । निर्देशन समिति संयोजक जीवन परियार र तदर्थ समिति संयोजक लोकबहादुर विश्वकर्माबीचको गुटगत विवाद समाधान गर्दै कात्तिकभित्र महाधिवेशन गर्ने सहमति भएको थापाले जानकारी दिएका छन् ।

    महिला संघ, नेविसंघ र तरुण दलमा विवाद चर्किँदै

    महिला संघमा केन्द्रीय सदस्यहरूको सामूहिक राजीनामा, नेविसंघमा अध्यक्ष दुजाङ शेर्पा र इतर समूह नेतृ प्रेमिका राना मगरबीच प्रतिनिधि खटाउने विवाद, तथा तरुण दलमा लमजुङ जिल्ला अधिवेशनमा भएको खुकुरी प्रकरणपछि ती संस्थामा विवाद झन् जटिल बनेको छ ।

    महामन्त्री थापाका अनुसार असार २ गते नेविसंघ, असार ३ गते तरुण दल, असार ५ गते महिला संघसँग निर्देशन समिति र तदर्थ समिति सहभागी छलफल तय गरिएको छ ।

    अन्तिम निर्णय असार १५ को केन्द्रीय कार्यसमितिबाट

    पार्टीले असार १० गतेसम्म सबै भ्रातृसंस्थासँग अन्तिम छलफल गरेर चित्तबुझ्दो कार्यतालिका पेश नभए खारेज गर्ने र भए म्याद थप्ने निष्कर्ष निकाल्ने तयारी गरेको छ ।

    उक्त विषयमा अन्तिम निर्णय लिन कांग्रेसले असार १५ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । सो बैठकमा भ्रातृसंस्था विवादसँगै अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images