काठमाडौं– संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
संघीय संसद् सचिवालयका अनुसार अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, अर्थमन्त्री पौडेलले आव २०८२÷८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिनेछन् ।
यसैगरी आजको बैठकमा ‘संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशाधन) विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची छ ।
प्रतिनिधिसभा बैठकमा भने विपक्षी नेकपा (माओवादी केन्द्र) बाहेकका अन्य दलहरूले अवरुद्ध पार्दै आएका छन् । आजको बैठक पनि विपक्षी रास्वपा लगायतका दलले अवरुद्ध पार्ने निर्णय गरेका छन् ।























