काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्रीको राजीनामाको माग राख्दै भिजिट भिसा प्रकरणमा संसद् अवरुद्ध गरिरहेको बेला, आफ्नै पार्टी सभापति रवि लामिछानेको नैतिकतामाथि प्रश्न उठेपछि पार्टीभित्र त्यसबारे गम्भीर छलफल सुरु भएको छ ।
आइतबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले रवि लामिछानेमाथि नैतिक प्रश्न उठाउँदै भने, ‘गैरकानुनी रूपमा रकम अपचलनको आरोप लागेका रवि लामिछाने कुन नैतिक आधारमा पार्टी सभापतिमा रहिरहेका छन् ? अनि उनको पार्टीका सांसदहरूले अरूलाई नैतिकताको पाठ पढाउने आधार के हो ?’
यसबारे रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले प्रतिक्रिया दिँदै भने, ‘सार्वजनिक रूपमा प्रश्न उठेपछि त्यसप्रति पार्टीले गम्भीर सरोकार राख्दै आन्तरिक छलफल सुरु गरेको छ । आइतबार एक चरण छलफल भइसकेको छ र सोमबार थप छलफल हुँदैछ ।’
सभापति लामिछानेमाथि विभिन्न सहकारी संस्थाबाट रकम अपचलन गरेको आरोपमा अनुसन्धान चलिरहेको छ । उनी हाल रुपन्देही जिल्ला कारागार कार्यालयमा थुनामा छन् । यसै प्रकरणमा उनमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान पनि सुरु गरिएको छ ।
गत पुस ८ गते प्रहरीको सूचना आधारमा संघीय संसद् सचिवालयले सभामुख देवराज घिमिरेलाई जानकारी गराएपछि लामिछानेको सांसद पद निलम्बनमा परेको थियो ।























