काठमाडौं– बढ्दो हताहती र विस्तृत लक्ष्यहरूले लामो समयका विरोधीहरूबीचको द्वन्द्वमा तीव्र वृद्धिलाई जनाउँदै इजरायल र इरानबीच आइतबार लगातार तेस्रो दिन आक्रमण र प्रत्याक्रमण भएको छ ।
शुक्रबारदेखि इजरायलले इरानी आणविक र सैन्य सुविधाहरूलाई लक्षित गरी आक्रमणको ठूलो लहर सुरु गरेपछि इरानी आक्रमणमा इजरायलमा कम्तीमा १० जनाको ज्यान गएको छ ।
अन्तर्राष्ट्रिय नेताहरूले तनाव कर्म गर्न आग्रह गरे तापनि मध्यपूर्वलाई समेट्न सक्ने लामो द्वन्द्वको डर उत्पन्न गर्दै कट्टर शत्रुहरूले यति तीव्रताका साथ आक्रमण बढाएको यो पहिलो पटक हो ।
घातक इरानी आक्रमण
इजरायली आपत्कालीन सेवाका अनुसार इरानले शनिबार रातिदेखि आइतबारसम्म इजरायलमा घातक क्षेप्यास्त्र प्रहार गरेको थियो, जसमा बालबालिका सहित कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब दुई सय जना घाइते भएका छन् ।
आइतबार बिहान जेरुसेलम र तेल अभिवमा हवाई आक्रमणको साइरन र धमाकाको आवाज सुनिएको थियो । इजरायली सेनाले लाखौँ इजरायली देशभरि दर्जनौँ सहर र समुदायहरूमा ‘साइरनको आवाजले शरणका लागि भागिरहेको’ बताएको छ ।
संयुक्त राष्ट्रसङ्घका लागि इरानका राजदूतका अनुसार इरानमा इजरायली हमलाको पहिलो लहरमा ७८ जनाको मृत्यु भएको र तीन सय २० जना घाइते भएका छन् । तर इरानी अधिकारीहरूले आइतबार बिहानसम्म अद्यावधिक सङ्ख्या प्रदान गरेका छैनन् ।
इरानले इजरायली लडाकू विमानहरूले इन्धन भर्न प्रयोग गर्ने स्थानहरूमा पनि आक्रमण गरेको रिभोलुसनरी गाड्र्सले आइतबार बिहान जनाएको छ ।
इजरायलले आफ्नो इलाकातर्फ छोडिएका सात ड्रोन रोकेको र इरानमा थप आक्रमण गर्दै आक्रमणहरू रोक्न काम गरिरहेको बताएको छ ।
यमनका इरान समर्थित हुथी विद्रोहीहरूले आइतबार इजरायलमाथि धेरै मिसाइल प्रहार गरेको बताएका छन् ।
असफल आणविक कूटनीति
तेहरानले शनिबार संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्थासँगको आफ्नो सहयोग सीमित गर्ने वाचा गरेपछि इजरायली आक्रमणमाथि उसको मौनताको आलोचना गर्दै इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार इजरायलले इरानका आणविक स्थलहरूलाई लक्षित गरेर ‘नयाँ रेखा पार गरेको’ बताएका छन् । –रासस


विश्व खबर 


















