काठमाडौं– पतञ्जली जग्गा हिनामिना प्रकरणमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सांसदबाट निलम्बनमा परेका छन् ।
उनी पार्टी अध्यक्षसँगै संसदीय दलका नेता पनि हुन् ।
तर, सांसदको हैसियत गुमाएका व्यक्तिले संसदीय दलको नेतृत्व गर्नु अनुचित हुने भन्दै पार्टीभित्र उनलाई हटाएर नयाँ नेता तोक्नुपर्ने माग उठेको छ ।
एक नेताका अनुसार अध्यक्ष नेपाललाई भेटेरै केही नेताले संसदीय दलको नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका थिए ।
तर, त्यसयता दलको बैठक नबसेको र पार्टीमै छलफल नचलेको उनी बताउँछन् ।
‘कानूनी प्रश्न उठेको अवस्थामा नैतिक जिम्मेवारीस्वरूप अध्यक्षले दुवै पदबाट अलग हुनुपथ्र्यो,’ ती नेताले भने ।’
पार्टी महासचिव घनश्याम भुसालका अनुसार अध्यक्ष नेपाल हाल कानुनी परामर्शमा व्यस्त छन् । दलको नेतृत्व फेर्ने विषयमा पार्टीले औपचारिक छलफल थालेको छैन ।
सांसद कृष्णबहादुर (किसान) श्रेष्ठले पनि दलको बैठक अहिलेसम्म नबसेको बताएका छन् । उपनेता राजेन्द्रप्रसाद पाण्डेले संसदमा दलको पक्ष सम्हालिरहेका छन् ।
तर, आधिकारिक रुपमा नयाँ नेता तोक्नुपर्ने माग पार्टीभित्र बढ्दो छ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार नेपाल निलम्बनमा परेपछि सांसदको रूपमा पाउने सबै सुविधा रोकिएको छ ।
तर, पूर्वप्रधानमन्त्रीको हैसियतले प्राप्त हुने सुरक्षा, सवारी र इन्धन सुविधा भने यथावत् छन् ।























